डोल्पा– डोल्पाको विकट क्षेत्रमा पर्ने काइके गाउँपालिका–७ का युवा वडाध्यक्ष रामचन्द्र रोकाया उत्तमले असहाय विरामीलाई आर्थिक सहयोग गरेका छन् । उनले आफ्नै पहलबाट २० हजार रुपैयाँ बिहिबार विरामीको हातमा थमाएका हुन् ।
वडाको समस्या बोकेर केन्द्रमा धाएका रोकायाले त्यसै बखतमा विरामीलाई आर्थिक सहयोग गरेको बताए । ‘अहिले मन्त्रीले एक दुईजना नानीबाबुहरु विद्यालयमा भर्ना गर्दा चर्चाको विषय बनेको छ, तर, हामीले गरिबलाई सहयोग गर्दा कसैले चासो नदिने ?,’ उनले सुनाए, ‘दुःखी असहाय र गरिबको लागि सेवा गर्न म देशका जुनसुकै ठाउँमा पनि पुग्न तयार छु ।’
त्यसो त पछिल्लो समय सुगम क्षेत्रमा जनप्रतिनिधिहरु शौखिन बन्दै गएका छन् । उनीहरु आफ्ना भौतिक सेवा–सुविधाहरु बढाउँदै लगेका छन् । तर, दुर्गम भेगका जनप्रतिनिधिहरु भौतिक श्रोतको अभावमा जनताको काममा खटिएकोे स्यंम जनप्रतिनिधि बताउँछन् । ‘जनताले मत दिएर जिताएपछि पैदल हिडेरै भएपनि उनीहरुका समस्या हल गर्नुपर्छ, राजनीति भनेकै अरुको निम्ति हो,’ रोकायाले थपे, ‘सबै जनप्रतिनिधिले स्वच्छ मनले काम गर्ने हो भने जनताका गुनासा पनि हराउँछन् ।’ उनी निर्वाचित हुनु पहिलेदेखि नै आफ्नो क्षेत्रमा विकासका काममा खटिँदै आएका छन् । निर्वाचित भएयता उनले आफ्नो वडामा खानेपानीको प्रबन्ध मिलाउने, टेलिफोन सेवालाई सहज बनाउने, सोलार वितरण गर्ने लगायत धेरै काम गरिसकेका छन् । उनको गाउँपालिका डोल्पाको विकट क्षेत्रमा पर्छ ।
प्रतिक्रिया