हिमाल रुँदैछ, बस्ती सर्दैछ: पग्लँदै गरेका ग्लेसियरहरूको मौन करुणा

हिमाल रुँदैछ, बस्ती सर्दैछ: पग्लँदै गरेका ग्लेसियरहरूको मौन करुणा

पार्वती खड्का

नेपालका हिमालहरू, जसले कहिल्यै आफ्नो टाउको झुकाउँदैनथे, अहिले बिस्तारै पग्लँदै छन्। वर्षौँदेखि आकाश छोएका यी श्वेत शृङ्खलाहरूले मौन पीडा बोलेका छन्। तिनीहरूको सेतो मुस्कान हराउँदै छ र ती तलका बस्तीहरू आफ्नो सुरक्षित जमिन छोड्दैछन्। हिन्दुकुश–हिमालय क्षेत्रका ग्लेसियरहरू पछिल्ला केही दशकमा भयावह गतिमा पग्लिरहेका छन्। वैज्ञानिकहरूको ताजा रिपोर्ट अनुसार सन् २०१० पछिका वर्षहरूमा पग्लने दर अघिल्ला दशकको भन्दा ६५ प्रतिशतले बढी भएको छ। नेपालका ग्लेसियरहरू पनि त्यसैको साक्षी बनेका छन्। लाङटाङको याला ग्लेसियर, खुम्बु क्षेत्रका आइसफिल्डहरू, र मुस्ताङका हिमनदीहरू तातो हावाको चपेटामा छन्।

ग्लेसियर पग्लँदा देखिने चम्किलो पानीले अल्पकालीन राहत जस्तो देखिए पनि दीर्घकालमा त्यो विनाशको संकेत हो। वैज्ञानिकहरू चेतावनी दिन्छन् कि “हामी अहिले पानीमा डुब्न सक्छौं, तर केही दशकपछि पानीको अभावमा तिर्खाएर मर्न सक्छौं।” हिमाल पग्लँदा उत्पन्न हुने पानी तलका नदी र तालमा पुग्छ, जसले केही समयका लागि पानीको उपलब्धता बढाउँछ तर त्यसपछि ती स्रोतहरू सुकेर जान्छन्। यो परिवर्तन केवल वातावरणमै होइन, मानव जीवनमा समेत ठुलो चुनौतीको रूपमा देखा परेको छ।

हिमालको मुटु पग्लँदा तल्लो बस्तीहरू असुरक्षित बन्दैछन्। ग्लेशियल लेकहरूको संख्या बढ्दै गएको छ र ती तालहरू फुट्ने सम्भावना पनि बढिरहेको छ। गण्डकी र कोशी बेसिनका धेरै गाउँलेहरू अहिले घर–जग्गा छोडेर तलतिर सर्दै छन्। मनाङकी एक वृद्ध महिलाले भनिन्, “पहिले हामी हिमाल हेरेर पूजा गर्थ्यौं, अहिले त्यही हिमाल डर लाग्छ।” हिउँ पग्लँदा नदीमा पानी बढ्छ, त्यसपछि पहिरो आउँछ, खेतबारी बगाउँछ र बस्ती विस्थापित हुन बाध्य हुन्छ। केही वर्षअघि सुरक्षित मानिएका गाउँहरू अहिले जोखिम क्षेत्रको सूचीमा परेका छन्।

विश्वको तापक्रम वृद्धिले नेपालका हिमनदीहरूलाई प्रत्यक्ष असर गरेको छ। तापक्रम १.५ देखि २ डिग्री सेल्सियससम्म बढ्दा सन् २१०० सम्म हिमालयका ७५ प्रतिशतसम्म बरफ गुम्न सक्ने अनुमान गरिएको छ। यसको प्रभाव केवल हिमालमै सीमित छैन। नदी, खेती, बाली, र पानी आपूर्तिसम्म फैलिएको छ। खेतमा सिंचाइका लागि पानी घट्दै गएको छ, मौसमी वर्षा अनियमित भएको छ र जनजीवन अस्तव्यस्त बनेको छ। अहिले नेपाल जलवायु द्वन्द्वको विचमा छ । एकातिर बाढी र पहिरो, अर्कोतिर सुख्खा र पानीको अभाव छ।

वातावरणविद्हरूको भनाइमा, नीतिगत तयारी र अनुगमन कमजोर भएकाले स्थिति झन् गम्भीर बन्दै गएको छ। ग्लेसियर क्षेत्रहरूको अनुगमन, तालहरूको निगरानी, र जोखिमपूर्ण बस्तीहरूको पुनर्स्थापनामा सरकारी पहल न्यून देखिन्छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले जलवायु न्यायको आवाज उठाउँछ, तर स्थानीय स्तरमा त्यसको प्रत्यक्ष प्रभाव देखिन सकेको छैन। नेपालका हिमालयहरू केवल बर्फका थुप्रा होइनन्, ती हाम्रो संस्कृति, आस्था र जीवनका स्रोत हुन्। जब ती पग्लिँदैछन्, त्यसको अर्थ केवल वातावरणीय संकट होइन, सांस्कृतिक क्षय पनि हो।

अब समय आएको छ । हामीले हिमाललाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने। तिनलाई केवल सौन्दर्यको प्रतीक होइन, जीवनका संवाहकको रूपमा बुझ्न आवश्यक छ। विद्यालयदेखि गाउँसम्म, सहरदेखि सरकारसम्म, हरेक तहमा जलवायु सचेतना फैलाउन जरुरी छ। हिमाल पग्लिँदैछ, तर अझै ढिलो छैन। यदि हामी आजैदेखि जिम्मेवारी लिन्छौं भने चेतनाको हिउँ पुनः जम्न सक्छ र भविष्यका पुस्ताले अझै पनि “हिमाल देख्ने देश” को गर्व गर्न सक्नेछन्।