गोकर्णेश्वर नगरपालिकाको पन्धौं नगरसभा सम्पन्न

गोकर्णेश्वर नगरपालिकाको पन्धौं नगरसभा सम्पन्न



काठमाडौं, गोकर्णेश्वर – असार १० गते। गोकर्णेश्वर नगरपालिकाले सोमबार पन्धौं नगरसभा भव्य रूपमा सम्पन्न गरेको छ। सभाको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो।

नगरसभामा गोकर्णेश्वर नगरपालिकाले आफ्नै मोबाइल एप सार्वजनिक गर्नुका साथै नगरभित्र हालसम्म भएका विकासका गतिविधिहरू समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो। नगरप्रमुख दीपक कुमार रिजालले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, र सरसफाइ जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

नगरप्रमुख दीपक रिजालले भन्नुभयो “खानेपानी, कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा गोकर्णेश्वर उपत्यकाकै नमुना बन्ने गरी हामी काम गरिरहेका छौं। सरसफाईलाई समेत नीति मै समेटिएको छ।”

नगरसभामा संघीय सांसद, प्रदेश सभा सदस्य, वडा अध्यक्षहरू, कर्मचारी, स्थानीय बासिन्दा, वृद्धवृद्धा, महिला र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
हालैका वर्षहरूमा गोकर्णेश्वर नगरपालिकाले सडक सञ्जाल, कृषि फार्म, स्वास्थ्य चौकी, विद्यालय सुधार लगायतका क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको छ। सफा शहर निर्माणका लागि नगरले फोहोर व्यवस्थापन, डस्टबिन वितरण र जनचेतनामूलक अभियानलाई पनि तीव्रता दिएको छ।