काठमाडौं, २०८२ जेष्ठ २१ “प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व” भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०८२ को अवसरमा काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र स्वयम्भूमा विशेष सम्पदा सफाइ अभियान सम्पन्न भएको छ। फोहरमैला व्यवस्थापन संघ नेपाल (Solid Waste Management Association Nepal – SWMAN) को संयोजनमा आयोजित यस कार्यक्रममा वातावरण संरक्षणमा क्रियाशील विभिन्न संघ-संस्थाहरूको उल्लेखनीय सहकार्य देखिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले प्लास्टिकजन्य फोहर विश्वव्यापी चिन्ताको विषय बनेको भन्दै यसको न्यूनीकरणमा सबैले आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। उनीहरूले समुदाय–सरकार–संस्थाबीचको सहकार्य र सचेतना अभियानले मात्र दीर्घकालीन सुधार सम्भव हुने धारणा व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले वातावरणीय संरक्षणलाई जीवनशैलीसँग जोड्नुपर्ने, प्लास्टिकको पुनः प्रयोग र व्यवस्थापनको प्रभावकारी मोडेल स्थापना गर्नुपर्ने र युवाहरूलाई सचेत बनाउनुपर्नेमा जोड दिए।
सफाइ अभियानमा सहभागीहरूले स्वयम्भू परिसर र आसपासका क्षेत्रमा फोहर संकलन, वर्गीकरण र उचित व्यवस्थापन गरी वातावरणीय सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया