काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टले पायो

काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टले पायो


काठमाडौं । काठमाडौं महानगरपालिकासहित राजधानीका १० नगरपालिकाहरुको फोहोर व्यवस्थापनको जिम्मेवारी निजी कम्पनी नेपवेष्टले पाएको छ । गत बुधवार लगानी बोर्ड र नेपवेष्टवीच फोहोर व्यवस्थापन सम्बन्धी परियोजना विकास सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएपछि, नेपवेष्टले उक्त कामको प्रक्रिया अगाडि बढाउने भएको हो । हालसम्म महानगरपालिकाले आफ्नै ढंगले फोहोरमैलाको व्यवस्थापन गर्दै आइरहेको थियो । नेपवेस्टले अबको तीन वर्षभित्रै फोहोर व्यवस्थापनमा करिब पाँच अर्ब रुपैयाँ खर्च गर्ने जनाएको छ । पहिलो चरण अन्तर्गत काठमाडौं महानगरपालिका सहित दक्षिणकाली, चन्द्रगिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरपालिकाको फोहोर नेपवेष्टले व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ ।


सम्झौताअनुसार नेपवेष्टले सरकारलाई वार्षिक १५ करोड रुपैयाँ बुझाउनेछ । काठमाडौंबाट संकलित फोहोरलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरेर २० प्रतिसत फोहोर नुवाकोटको बन्चेरेडाँडास्थित ल्याण्डफिल्ड साइटमा तह लगाइने छ । सो कम्पनीले कुहिने, नकुहिने, सिसा र औषधिजन्य फोहोर प्रत्येक घरधुरी र सार्वजनिकस्थलबाट संकलन गर्नेछ । कम्पनीले संकलित फोहोरबाटै ग्यास, प्रांगारिक मल, रिफ्युज डिराइभ्ड फ्युलसहितको पाँच मेगावाटसम्म बिजुलीसमेत उत्पादन गर्ने योजना पनि बनाएको छ ।