साइबर ब्युरो

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर

ग्रिनसिटी संवाददाता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो । 

सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ । दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिए ।

मङ्सिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।  व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् ।

उनले भनेका छन्– ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन् ।’ तर, प्रसाईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।