बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती


म्याग्दी । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।

सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे । “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।”

करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसके । “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।”

उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताए ।