टोक्यो – आधारभूत स्वास्थ्य सेवामा विश्वको आधा जनसंख्याको पहुँच नरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।विश्व बैंक र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा जारी गरेको एउटा नयाँ प्रतिवेदनका अनुसार बर्सेनी औषधोपचार खर्चका कारण नै करिब १० करोड मानिस विपन्न हुने गरेका छन् ।
अहिले विश्वभर ८० करोड मानिसले आफ्नो गार्हस्थ्य बजेटको कम्तीमा १० प्रतिशत हिस्सा आफ्नो वा छोराछोरीको वा परिवारका अन्य सदस्यको उपचारमा खर्च गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । तर करिब १० करोड मानिसले औषधोपचारमा खर्चनु परेको धेरै रकमले उनीहरूलाई विपन्न बनाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार औषधोपचारले विपन्न भएकाहरू दैनिक १ सय ९६ रुपैयाँ (१ दशमलव ९० अमेरिकी डलर)मा गुजारा गर्न बाध्य हुने गरेका छन् ।
टोक्योमा ‘ट्र्याकिङ युनिभर्सल हेल्थ कभरेजः २०१७ ग्लोबल मनिटरिङ रिपोर्ट’ सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडनम गेब्रेयसले भने, ‘विश्वका आधा जनसंख्या आधारभूत स्वास्थ्य सेवाको पहँुच बाहिर हुनु दुःखद् र यो दुर्भाग्यपूर्ण छ ।’
उनले यस्तो स्थिति आउन नहुने भन्दै समाधानको उपाय पनि सुझाए । ‘यसको समाधान छ । युनिभर्सल हेल्थ कभरेज (युएचसी)ले विश्वभरका सबैलाई जहिलेसुकै जहाँसुकै भए पनि आवश्यक परेका बेला कुनै आर्थिक कठिनाइबिनै स्वास्थ्य सेवा उपलब्ध गराउँछ,’ उनले भने ।
प्रतिवेदनले सबैलाई उपयुक्त स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउन मात्र नभएर गरिबी अन्त्य गर्ने हो भने विश्वव्यापी रुपमा नै स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई तीव्रता दिनुपर्ने विश्व बैंकका समूह अध्यक्ष डा. जिम योङ किमले बताए । उनले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले स्रोतसाधनको लगानी र उपयोग स्वास्थ्य र मानवीय स्रोतको विकासतर्फ केन्द्रित गर्नुपर्ने प्रतिवेदनले प्रष्ट देखाएको छ ।’
प्रतिवेदनले २१ औं शताब्दीमा खोप लगाउने, परिवार नियोजन र एचआइभी एड्स तथा मलेरियालगायत रोगको उपचारजस्ता केही स्वास्थ्य सेवा उपयोग गर्ने जनसंख्या बढेको पनि देखाएको छ ।
टोक्योमा जारी युनिभर्सल हेल्थ कभरेज फोरमको बैठकमा यो प्रतिवेदन नै छलफलको मुख्य विषय हुनेछ । फोरमको बैठकमा संयुक्त राष्ट्र संगठनका महासचिव एन्तोनियो गुतेरेस, जापानी प्रधानमन्त्री सिन्जो आबे, विश्व बैंकका अध्यक्ष किम, विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक एन्टनी लेक सहभागी छन् । यसबाहेक ३० देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख पनि बैठकमा सहभागी छन् । स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन बैठकले शुक्रबार साँझ ‘टोक्यो डिक्लेरेसन अन युनिभर्सल हेल्थ कभरेज’ घोषणापत्र जारी गर्नेछ । (स्वास्थ्यखबरपत्रिका)
प्रतिक्रिया