चक्रपथ विस्तार : कलंकी–महाराजगञ्ज खण्डको २ सय रूख काटियो, निर्माण कार्य २०२० देखि

चक्रपथ विस्तार : कलंकी–महाराजगञ्ज खण्डको २ सय रूख काटियो, निर्माण कार्य २०२० देखि


काठमाडौँ– चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी–महाराजगञ्ज सडक निर्माण सन् २०२० बाट शुरु हुने भएको छ। सो खण्डमा रहेका बिजुलीको पोल, पानीका पाइप, रूख, ढललगायत हटाउने तथा नयाँ स्थानमा व्यस्थापन गर्न केही समय लाग्ने भएकोले आगामी अंग्रेजी नयाँ वर्षबाट निर्माण कार्य शुरु हुने चक्रपथ सुधार आयोजनाले जनाएको छ।

हाकाहाकीसँग कुरा गर्दै चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले यो खण्डको सडकमा पर्ने रूख काट्ने, पोल सार्नेलगायत ढल हटाउने काम भइरहेकाले सन् २०२० बाट मात्र निर्माण कार्य शुरु हुने बताए ।

‘अहिलेसम्म करिब ३ सय बिजुलीका पोल सार्नुका साथै २ सय रुख काटिएको छ, १९ सय रुख काट्न बाँकी छ,’ उनले भने, ‘अबको २ महिनामा रुख काट्ने, पोल सार्नेलगायतको काम सकेर साइट क्लियर गर्छौं त्यसपछि निर्माणको कार्य शुरु हुन्छ।’

कलंकी–महाराजगन्ज सडकखण्ड विस्तारका लागि हाल सडक वरपर भएका २१ सय रूख काट्नुपर्ने र ७ सय बिजुलीका पोलहरू सार्नु पर्ने उनले जानकारी दिए।

सडकमा पर्ने प्रहरी चौकी र पेट्रोल पम्प समेत हटाउनुपर्ने उनी बताउँछन्। उनका अनुसार सामाखुसीमा रहेको प्रहरी चौकी र हल्चोकमा रहेको सशस्त्र प्रहरीको पेट्रोल पम्प सडक विस्तारको क्रममा हटाउनुपर्ने हुन्छ।

साइट क्लियर गर्न नेपाल विद्युत प्राधिकरण, वन विभाग, खानेपानी तथा ढल निकास विभाग लगायत सम्बन्धित निकायसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरिएको चक्रपथ सुधार आयोजनाका प्रमुख रिमाल बताउँछन्।

उक्त खण्डको निर्माण जिम्मा चीनलाई दिइएको र रूख काट्ने तथा बिजुलीका पोल हटाउने कार्य सकिएपछि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार हुने उनले जनाए।

आयोजनाको डिपिआर चिनियाँ पक्षले नै तयार पारिरहेको र डिपिआर स्वीकृत गरेपछि चीनले टेण्डर आव्हान गरी निर्माण कम्पनी नेपाल पठाउने रिमालको भनाई छ।

चिनियाँ कम्पनीले काम गर्ने भएपनि नेपाली पक्षले सुपरिभिजन र सहजीकरण गर्नेछ। सडक विस्तारका लागि द्विपक्षीय सम्झौता भइसकेको छ।

उक्त सडक विस्तारका लागि चालू आर्थिक वर्ष २०७६/०७७ मा अर्थ मन्त्रालयबाट १ अर्ब ८१ करोड वजेट विनियोजन भएको छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पञ्चवर्षीय योजना अन्तर्गत २०७३ देखि २०७८ सम्म चक्रपथ सडकखण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

चीन सरकारको सहयोगमा सन् १९७०को दशकमा निर्माण भएको चक्रपथको स्तरोन्नतिका लागि सन् २०१२ डिसेम्बरमा सहमति भएको थियो। सोही सम्झौता आनुसार अहिले चक्रपथ सडक विस्तारको कामहरू भइरहेको छ। पहिलो चरणमा कलंकी–कोटेश्वर सडकको निर्माण चीनले सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।

एलिसा अर्यालले लेखेको यो समाचार हाकाहाकीमा प्रकाशित छ ।