पश्चिम तराईमा फौजी कीराको प्रकोप : एक हजार हेक्टरमा लगाइएको धानबाली सखाप

पश्चिम तराईमा फौजी कीराको प्रकोप : एक हजार हेक्टरमा लगाइएको धानबाली सखाप


नेपालगन्ज – बाँके र बर्दियामा पाक्ने अवस्थामा पुगेको धानमा फौजी कीराको प्रकोप देखिएको छ। फौजी कीरा (आर्मी वर्म ) उज्यालो हुँदा धानको गाँजमा लुक्छ र सूर्यास्त भए पछि निस्केर सैनिक शैलीमा धानको बाला काटेर नष्ट पार्छ।

दिनभर धानको गाँजमा लुकेर बस्ने फौजी किराले अँध्यारो भए पछि धानको बोटमा चढेर बाला काटी दिन्छ। फौजी कीराको प्रकोप भएको क्षेत्रमा धानको बोटहरु बालाविहीन ठुटै देखिन्छन। धानको बालालाई कीराले काटेर भुईमा झारी दिन्छ । भुइमा झरेको धानको बाला नोक्सान हुन्छ।

फौजी किराको प्रकोपबाट बाँके र बर्दियामा एक हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र नेपालगन्जका कृषि विकास अधिकृत शकिल अहमद खाले बताए। प्रकोप महामारीका रुपमा फैलिएकाले क्षतिको परिमाण बढ्दै जाने देखिएको छ।

फौजी कीराको प्रकोपले दुई/तीन दिन मै पाकेर काट्ने अवस्थामा पुगेको धान बालीमा ७०/८० प्रतिशत क्षति पुगेको नेपालगन्ज उप महानगरपालिका १९ फुटाहाका किसान गोली रैदाशले बताए।

एक साता देखि प्रकोपको रुपमा देखिएको फौजी कीराले बाँकेको नेपालगन्ज, डुडुवा , नरैनापुर र बर्दियाका बढैयाताल क्षेत्रमा किसानहरुले लगाएको एक हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सान पु¥याइसकेको छ । फौजी कीराको प्रकोप तीव्र गतिमा फैलिरहेको छ ।

फौजी कीराले पाक्न थालेको धान सखाप पारेपछि के खाने कसरी बाल बच्चा लाई खुवाउने भन्ने समस्यामा परेको फुटाहा गाउँकी सहेली रैदाश बताउँछिन्। उप–महानगरपालिकाको वडा कार्यालय देखि कृषि ज्ञान केन्द्रमा पुगेर फौजी कीराको प्रकोपका कारण किसानहरुलाई परेको समस्याका बारेमा जानकारी गराएको फुटाहा गाउँका अर्का किसान सुरेश रैदाशले बताए।

फौजी कीराको प्रकोपबाट हजारौँको सख्यामा किसानहरु समस्यामा परेकाले स्थानीय सरकारले मात्रै सहयोग गर्न सक्ने अवस्था नभएकाले प्रदेश र संघीय सरकार समक्ष फौजी कीराको प्रकोप प्रभावित क्षेत्रका किसानहरुलाई सहयोग गर्न आग्रह गरेको नेपालगन्ज उप महानगरपालिका वडा नं १९का वडा अध्यक्ष परसुराम कुर्मीले बताए।

फौजी कीराको प्रकोप नियन्त्रण गर्नका लागि इमिडाक्लोप्रिड(१७.८ प्रतिशत एससी ) नामक विषादी प्रति लिटर पानीमा १ मिलिलिटर मिसाई प्रति कठ्ठा धान खेतमा १५ देखि २० लिटर घोल बनाएर घाम अस्ताए पछि छर्कन कृषि ज्ञान केन्द्र बाकेले किसानहरुलाई आग्रह गरेको छ।

ज्ञान केन्द्रका प्राविधिकहरुले फौजी कीरा उज्यालोमा धानको गाँजमा लुकेर बस्ने र रातीमा धानको बाला काट्ने भएकाले फौजी किरा मार्नका लागि अध्यारो भएपछि बिषादी छर्न किसानहरुलाई आग्रह गरेका छन।

विगतका वर्षहरुमा छिटपुट रुपमा बाँके र बर्दियामा फौजी किराको प्रकोप देखिए पनि यो वर्ष भने महामारीकै रुपमा फौजी कीराको प्रकोपको देखिएको कृषि ज्ञान केन्द्र बाकेका कृषि विकास अधिकृत खाले बताए।

फौजी कीराको प्रकोप हाइब्रिड धान खेती गरिएको क्षेत्रमा बढी देखिएको छ। सीमावर्ती भारतीय बजार रुपैडियाबाट प्रति केजी चार देखि पाच सय सम्ममा किनेका विभिन्न जातका हाइब्रिड धान र नेपाल मै सिफारिस भएका उन्नत जातका धान रोपेको क्षेत्रमा पनि फौजी कीराको प्रकोप फैलिएको छ।

वर्षात राम्रो भएका कारण प्रति कठ्ठामा दुई देखि तीन क्वीन्टलसम्म उत्पादन हुने आशामा रहेका किसानहरु फौजी कीराले धान सखाप पारीदिए पछि वर्षभरी के खाने भन्नेमा चिन्तामा छन।

फौजी कीराको क्षतिबाट धान जोगाउन प्रभावित क्षेत्रमा सिँचाई गर्न ८० देखि ८५ प्रतिशत धानको दाना पहेंलो भए पछि काट्न, मट्टितेल र विषादी छर्कन किसानहरुलाई आग्रह गरिएको छ।

फौजी कीराको प्रकोप बढ्दै गए पछि बाँके र बर्दियाका किसानहरुले राम्रो सँग नपाकेकै धान काट्न थालेका छन ।यो समाचार हाकाहाकीमा कुष्ण अधिकारिले लेखेका छन ।