सदरमुकाममा खानेपानी समस्या

सदरमुकाममा खानेपानी समस्या


सुख्खा मौसमसँगै पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या देखिन थालेको छ ।

तानसेन बजारभित्रका अधिकांश ढुङ्गेधारा, खानेपानीका मुहान सुकेका छन् । अहिले तानसेनवासीलाई पानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिएको छ । गर्मीयाम बढेसँगै दिन प्रतिदिन खानेपानीको समस्या विकराल बन्दै गएको छ । तानसेनमा अहिले एक हप्तादेखि पन्ध्र दिनमा एक पटक धारामा पानी आउने गरेको स्थानीवासीको गुनासो छ ।

बालबालिकालाई विद्यालय पठाउनभन्दा पनि खानेपानीको जोहो गर्नुपर्ने बाध्य रहेको तानसेन नगरपालिका–६ का नन्दबहादुर आलेले बताए । “खडेरीयाम शुरु भएपछि पानीको समस्या बर्सेनी हुन्छ, छोराछोरीको पठनपाठनभन्दा पनि खानेपानी जोहोकै समस्याले सताउने गरेको छ” उनले भने ।

तानसेनमा अहिले भुल्के, सिस्ने, होलाङ्दी र तीनधाराबाट पम्पिङ गरेर खानेपानी आपूर्ति गरिँदै आएको छ । एक घण्टाको बाटो हिँडेर पानी लिन आउँदा दुई घण्टासम्म लाइनमा बस्नुपरेको तानसेनमा कोठा भाडा गरी बस्ने हेमा रानाले बताउनुभयो । एक घण्टाको समय पैदल हिँडेर आए पनि धारामा पानी भर्नेको लाइनले पालो पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।

खानेपानी अभावले विशेषगरी तानसेनमा पढ्न बसेका विद्यार्थीहरुलाई बढी समस्या परेको छ । आफ्नो पढाइलाई समेत थाती राखेर पानीको व्यवस्था गर्नु परेको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी बिमल पौडेलले बताउनुभयो । “पढाइभन्दा पनि खानेपानीको चिन्ता बढी छ, खानेपानी सहज नहुँदा पढाइ नै प्रभावित हुन पुगेको छ”, लामो खडेरी तथा बिद्युत आपूर्तिमा समस्या रहेकाले खानेपानी अभाव झन् विकराल बन्दै गएको हो ।

खानेपानी समस्याको निराकरणका लागि तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा नेपाल सरकारको रु ४० करोडको लगानीमा कालीगण्डकी खानेपानी योजनाको काम अगाडि बढेको बताइएको छ । योजनाको काम तीव्र गतिमा अगाडि बढिरहेका कारण यहि असार, साउनसम्म तानसेनवासीले कालीगण्डकीको पानी उपभोग गर्न पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्य बताउनुहुन्छ ।

कालीगण्डकी खानेपानी योजनाको काम करीब ८० प्रतिशत सम्पन्न भइसकेकाले अब छिट्टै तानसेनवासीको प्यास कालीगण्डकीले मेटाउनेमा भने स्थानीयवासी ढुक्क देखिन्छन् । तानसेनमा दैनिक करीब बीस लाख लिटर पानीको माग भइरहेकामा अहिले करीब साढे सात लाख लिटर पानी मात्र आपूर्ति हुँदै आएको छ ।

उन्नत धानतर्फ कृषक आकर्षित

स्थानीय जातको धानको बीउ लगाउँदै आउनुभएका रामपुर नगरपालिका–१ का शेरबहादुर खड्का उन्नत जातका धानको बीउ प्रयोग गर्दै हुनुहुन्छ ।

यसभन्दा अघि स्थानीय जातको धानको बीउ प्रयोग गर्ने खड्काले यसैवर्ष देखि उन्नत जात लगाउन शुरु गर्नुभएको हो । स्थानीय जातको धानबाट मनग्य उत्पादन लिन नसकेपछि खड्काले उन्नत जातको धानको बीउ प्रयोग गर्न थालेका हुन ।
“स्थानीय जातभन्दा बढी उत्पादन दिइने भएकाले उन्नत जातको बीउमा जोड दिएको छु”, उहाँले भन्नुभयो । गुणस्तरीय बीउ पाइन थालेपछि कृषक विनोद श्रेष्ठ पनि उन्नत जात नै लगाउन थालेको बताउछन ।

“बीउ गुणस्तरको नपाइने समस्याले गर्दा जसोतसो बाध्यताले स्थानीय जात नै लगाइन्थ्यो, अहिले उन्नत जातका बीउ गाउँ गाउँमा भित्रिएपछि बीउ खरीदको समस्या हटेको छ”, उनले भने ।

रामपुर नगरपालिका कृषि शाखाले यसवर्ष पचास प्रतिशत अनुदानमा आधुनिक कृषि खेती कार्यक्रमअन्र्तगत एक कृषि सहकारी, आठ कृषक समूह, ८१ कृषकलाई धानको बीउ वितरण गरिएको शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।

शाखाले धान उत्पादन वृद्धि गराउने उद्देश्यले चार हजार नौ सय केजी साबित्री, आठ सय ७५ केजी रामधान र आठ सय ७५ केजी सावा मन्सुली जातको उन्नत बीउ वितरण गरिएको उनले बताए ।

रामपुर क्षेत्रमा उन्नत जातको धानको माग बढ्दो रहेको एग्रोभेट सञ्चालकहरु बताउँछन् । कृषकले खाद्यान्न बालीअन्तर्गत धानमा स्थानीय जातको विकल्पमा उन्नत जातको यू यस ३१२ च्यापियन, राजा गोरखनाथ जस्ता बीउको प्रयोग गरेका छन् ।

पाल्पाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ । खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राबिधिकहरु बताउँछन् । खेती गरिएको जमीनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ । कृषकहरु उन्नत जाततर्फ आकर्षित हँुदा खेती लगाइएका जमीनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन् ।