सामुदायिक वन उपभोक्ता महासङ्घको २४औँ स्थापना दिवसको उपलक्ष्यमा छहरेपानी सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ अर्मलामा वृक्षरोपण गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, पोखरा नगर, जिल्ला डिभिजन वन कार्यालयद्वारा संयुक्तरूपमा आयोजित वृक्षरोपन कार्यक्रममा ५०० तेजपातका बिरुवा रोपिएको थियो । उक्त बिरुवा जिल्ला डिभिजन वन कार्यालयबाट निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।
सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरिता कुमालले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै वनलाई उपभोक्ताको आयआर्जनसँग जोड्न महासङ्घले अभियान सञ्चालन गरेको बताए ।
पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवन आचार्यले सामुदायिक वनको अवधारणाले नेपालको वन संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकोे उल्लेख गर्दै यसलाई कानूनसम्मत ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनलाई उद्यमसँग जोड्ने महासङ्घको अभियानलाई तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।
एक सय ४० घरधुरी रहेका सो सामुदायिक वनमा परम्परागतरूपमा रहेको जङ्गलभित्रको खाली ठाउँमा तेजपातका बिरुवा रोपेर उपभोक्ताको थप आम्दानीको स्रोतका रूपमा विकास गरिने लक्ष्य रहेको स्थानीय उपभोक्ता एवं सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश सदस्य जितबहादुर बस्नेतले बताए।
प्रतिक्रिया