काभ्रेपलाञ्चोक, चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो ।
माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताए ।
सबै वडाको विभिन्न स्थानबाट नमूनाका रुपमा १५० कृषकको माटो परीक्षण गरिने अध्यक्ष गौतमले जानकारी दिए । उनले बताए, “व्यावसायिकरूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्नेछ, त्यसमा हामी पनि सहयोग गर्नेछौँ ।” उनका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमूनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् ।
यसअघि भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकको खेतबारीको माटोको परीक्षण गराएको थियो । उक्त गाउँपालिकाले काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक एक हप्ताको अवधिमा आफ्नो १० वडाका कृषकको नमूनाका रूपमा माटो परीक्षण गरेको थियो ।
प्राप्त रिपोर्टअनुसार मौसमअनुसार व्यावसायिक कृषि गराउन कृषकसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए । उनले कृषकको जीविकोपार्जनमा सहयोग तथा कृषि पेशाबाटै आत्मनिर्भर बन्न हौसला दिलाउने उद्देश्यले हाल गाउँपालिका–१ रिठ्ठेका कृषकलाई नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को सहयोगमा उन्नत जातको गहुँको बीउ वितरण गरिएको जानकारी दिए ।
प्रतिक्रिया