दोस्रो विश्व युद्धमा नाजी जर्मनीविरुद्ध रुसले विजय प्राप्त गरेको दिनको सम्झनामा आज आयोजित काव्यिक साँझमा यहाँस्थित रुसी सांस्कृतिक केन्द्रमा आज स्मरण गरिएको छ । युद्धकालीन पीडा र असर झल्काउने क्रान्तिकारी कविता, गीत र सङ्गीतको नेपाली अनुवादसहित प्रस्तुति गरिएको थियो । त्यहाँका चर्चित गायक युसिफ काब्जोनको उहाँका भाषा र स्वरमा विभिन्न राष्ट्रभक्तिका गीतको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो । काब्जोन ८० वर्षमा पुगेका बेला गरिएको एकल प्रस्तुति, जहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपतिसँगै बसेर हेरेको देखाइएको थियो । गीतको नेपाली भावानुवाद नेपाल रुस साहित्य समाजका अध्यक्ष डा जङ्गब चौहानले गर्नुभएको थियो । काव्जोनका ‘पर्खिरहनेछु’, ‘काम हाम्रो सामान्य छ’, ‘सारसहरु’, ‘अँधेरी रात’, ‘अन्तिम युद्ध’, ‘पलहरु’ बोलका गीतको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो । यसैगरी गायक जुजुकाजी रञ्जितले गोपाल योञ्जनको एक गीत र रामबहादुर पहाडीले गजल वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्वयुद्धका बाछिटा र सङ्कटको असरको पेलान र प्रभावबाट नेपाल पनि अछुतो नरहेको बताउनुभयो । रुसी केन्द्रका उपनिर्देशक अलेक्सा कोल्थाराबले दोस्रो विश्वयुद्धमा रुसी जनताले देखाएको साहस अविस्मरणीय रहेको बताउनुभयो । कार्यक्रममा चौहानले तयार गरेको ‘डकुमेन्ट्री’ ‘ट्रान्स साइबेरियनः ड्रिम अफ लाइफटाइम’ को प्रदर्शनी पनि भएको थियो । सन् १९३९ जुन २२ देखि १९४५ मे ९ सम्ममा दोस्रो विश्वयुद्ध भएको थियो । युद्धका क्रममा विश्वका शक्ति राष्ट्रहरु आपसमा विभाजित भएका थिए ।
प्रतिक्रिया