बग्दादबाट अपहरित ४४ बङ्गलादेशी मुक्त

बग्दादबाट अपहरित ४४ बङ्गलादेशी मुक्त


बग्दाद, इराक, इराकी सुरक्षाकर्मीले दुई महिना पहिले बग्दादबाट अपहरण भएका ४४ जना बङ्गलादेशी नागरिकलाई मुक्त गराएको सोमबार जनाएका छन् ।

इराकको सर्वोच्च न्यायिक परिषद् ९एसजेसी०ले भनेको छ, “सुरक्षाकर्मीले दुई महिना पहिले बग्दादबाट अपहरण भएका ४४ जना बङ्गलादेशी नागरिकलाई मुक्त गराएको र अपहरणमा सम्लग्न रहेको आरोपमा छ जनालाई पनि पक्राउ गरी छानविन शुरू गरेको छ ।”

एसजेसीको सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “इराकस्थित बङ्गलादेशी राजदूतावासका अधिकारीले इराकको कारादा जिल्लास्थित अपहरणकारीको एक घरमा अपहरित बङ्गलादेशी नागरिकलाई राखी फिरौती माग गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई मुक्त गरिएको छ ।”

राजदूतावासका अधिकारीले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीले एकान्तमा रहेको उक्त घर खानतलासी गरी सबैजनालाई सकुशल रिहा गरिएको छ । अपहरणमुक्त सबैजना बङ्गलादेशी नागरिक वैदेशिक रोजगारीको शिलशिलामा बग्दाद बस्दै आएका थिए ।

अपहरणकारी छ जनामध्ये चार जना बङ्गलादेशी र दुई इराकी नागरिक रहेको बताइएको छ । सुरक्षाकर्मीले अपहरणमा सम्लग्न रहेका भनिएका अन्य दुई बङ्गलादेशी नागरिकसहित तीन जनाको खोजी जारी राखेको बताइएको छ ।

अपहरणकारीलाई घरमा अपहरित बङ्गलादेशीलाई पहरा दिइ बसेको अवस्थामा भेटिएको हो भने अपहरणमा परेका सबै जनालाई दुई महिनासम्म शारिरीक यातना दिएर फिरौतीका लागि घरभित्र बन्द गरी राखिएको उनीहरूले बताएका विज्ञप्तिमा उल्लेख छ ।

अपहरणकारीले इराकमा विदेशी कामदारका लागि श्रम कार्यालय खोली काम गर्दै आएकासमेत खुलेको छ । अपहरणमुक्त नागरिकलाई इराकका लागि बङ्गलादेशी राजदूतावासमा जिम्मा लगाइसकिएको विज्ञप्तिमा उल्लेख छ ।