औलोबाट जोगिनुस

औलोबाट जोगिनुस


डडेल्धुरा, सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औलोको जोखिम कायमै छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा अझै औलोको जोखिम रहेको पाइएको हो ।विश्व स्वास्थ्य सङ्गठनको निर्णयअनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन अर्थात आज विश्व औलो दिवस मनाइन्छ । स्वास्थ्य सस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा समेत औलोको प्रकोप अझै देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यस अवसरमा डडेल्धुरा सदरमुकाममा जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रियामा सुदूरपश्चिम पनि औलोको जोखिममा रहेको बताइएको हो । डडेल्धुरामा चालू आर्थिक वर्षको हालसम्म औलोका आठ बिरामी भेटिएको छ भने डडेल्धुरासँगै पाहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।
विदेशबाट फर्कने नेपालीमा औलोको सङ्क्रमण देखिने गरेको उक्त कार्यालयका भेक्टरकन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिनुभयो । औलो रोग निवारण गर्न सम्बन्धित स्वास्थ्यचौकीमार्फत् आमा समूहसम्म विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । डडेल्धुरा जिल्लाको पनि भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा औलोको बढी जोखिम रहेको भेक्टरकन्ट्रोल सुपरभाइजर भट्टको भनाइ छ । लामखुट्टेको टोकाइका कारण मानिस तथा अन्य केही जनावरमा सर्ने औलो प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेको टोकाइबाट परजीवी शरीरमा प्रवेश गरेमा १० देखि १५ दिनमा लक्षण देखिन थाल्छ ।
घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शङ्कास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन् ।

औलोका आयातीत बिरामी
नारायणपुर– क्रमशः घट्दो दरमा रहेको औलोको सङ्क्रमण घटेपनि जोखिम भने कायमै छ । लामो समयदेखि औलो रोगको सङ्क्रमण दर घट्दो मात्रामा छ, तर भारतलगायत बाह्य देशबाट भित्रिने नागरिकमा यो रोगको सङ्क्रमण बढी देखिएको तथ्याङ्कले देखाएको छ । दाङमा चालू आर्थिक वर्षमा आठ जनालाई औलो रोगको सङ्क्रमण देखिएकामा छ जना भारतबाट आएका व्यक्तिमा यो रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । सङ्क्रमितमध्ये तुलसीपुरका पाँच, राप्तीका पाँच र बबई गाउँपालिकाका एक थिए ।

“स्थानीयस्तरमा हुने सङ्क्रमण र देश बाहिर गएका व्यक्तिले लिएर आउने सङ्क्रमण गरेर दुई प्रकारको सङ्क्रमण छ ।” जिल्ला स्वास्थ्य कार्यालयका कमल चन्दले भने, “स्थानीयस्तरमा हुने सङ्क्रमणमा कमी आए पनि भारतलगायतका विभिन्न देशबाट फर्किने व्यक्तिमा बढी सङ्क्रमण भएको देखिएको छ ।”आर्थिक वर्ष ७३÷७४ मा ३४ मा देखिएकोमध्ये ३१ देश बाहिरबाट आएकामा औलोको सङ्क्रमण थियो । आव २०७४÷७५ मा २७ मा औलोको सङ्क्रमण भएकामा २४ बाहिरबाट आएका व्यक्ति रहेको उनले बताए ।

औलाबाट सन् २०१२ देखि अहिलेसम्म कुनै पनि बिरामीको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले बताए । सन् २०१२ मा तत्कालीन घोराही नगरपालिका औलोको उच्च जोखिम क्षेत्र भएकामा विभिन्न कार्यक्रम आयोजनाले जोखिम न्यून भएको उक्त कार्यालयले बताएको छ । कार्यालयका अनुसार अहिले बबई गाउँपालिकाको वडा नं ५ र ७, राप्ती गाउँपालिकाको ९, शान्तिनगर गाउँपालिकाको ६ र तुलसीपुर उपमहानगरपालिका–१३लाई मध्यम जोखिम क्षेत्रको रुपमा लिइएको छ ।

यी जोखिम क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्ने, सुपानेट झुल वितरण गर्नेलगायतका कार्यक्रम छन् । “जोखिमको हिसाबले जिल्ला नै जोखिमपूर्ण हो तर पछिल्लो कार्यक्रमले केही सुधार देखिएको छ ।” प्रमुख पण्डितले भने, “एउटामात्र बिरामी देखियो भने त्यो क्षेत्र नै जोखिमपूर्ण क्षेत्रको रुपमा देखापर्छ ।” सरकारले सन् २०२६ सम्म औलो नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

बाँकेमा औलोका ३७ विरामी

राँझा– आयातित विरामीका कारण बाँके जिल्लामा औलो रोगको जोखिम अझै देखिएको छ ।अन्य रोगको तुलनामा औलो उन्मूलनउन्मुख भएपनि आयातित विरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण संयोजक दुर्गा गौतमले बताउनुभयो । चालु आर्थिक वर्षको पुससम्म बाँकेमा औलो रोगका ३७ विरामी फेला परेकामा तीन मात्रै स्थानीय विरामी रहेको उक्त कार्यालयले जनाएको छ ।

“स्थानीय विरामीलाई शून्यमा झारेर यहाँको लामखुट्टेबाट औलो नसरोस् भन्ने हाम्रो लक्ष्य हो ।”गौतमले भने–“त्यसका लागि स्थानीय तहबाटै औलोरोग विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ भने सबै स्वास्थ्य संस्थाबाट औलोको जाँच र औषधि निःशुल्क वितरण भईरहेको छ ।”

औलो सङ्क्रमित विरामीको उपचार नभएमा लामखुट्टेको माध्यमबाट यो रोग सर्ने भएकोले विदेशबाट आएका र स्वदेशका ज्वरोका विरामीले २४ घण्टाभित्रै जाँच गर्नुपर्ने उनको सल्लाह छ ।

रगत जाँचका क्रममा एकजनामा सङ्क्रमण देखिएमा विरामीको घरलाई केन्द्र मानेर एक किलोमिटर वरिपरि वा वस्तीका कम्तीमा पचास घरपरिवारमा जाँच गर्ने गरिएको छ ।

विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने बाँके पछिल्लो समयमा सुरक्षित बन्दै गएपनि जोखिम भने कायमै रहेको उक्त कार्यालयका निमित्त प्रमुख प्रेम केसीले जानकारी दिए।

नेपाल सरकारले औलो रोगीको संख्या सन् २०२२ सम्ममा शून्यमा पु¥याउने र सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुने निमित्त प्रमुख केसीले जानकारी दिए ।