ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा


 

गोदावरी, ज्येष्ठ नागरिक घुम्ती शिविरबाट नगरपालिकाभित्रका ७०० ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । गत पुस ७ गतेदेखि शुरु सो शिविरबाट गोदामचौर, विशङ्खुनारायण, गोदावरी, बडिखेल, लेले, डुकुछाप र छम्पीका ज्येष्ठ नागरिकले सेवा लिइसकेका छन् ।

गोदावरी नगरपालिकाले चलाएको शिविर टोलटोलमै गएर सेवा प्रदान गरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “ शिविर नगरपालिकाभित्रका सबै वडामा सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेका छौँ”, महर्जनले भने, “नगर क्षेत्रका ज्येष्ठ नागरिकले आफ्नै घरघरबाटै स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले कार्यक्रम चलाएका हौँ ।” शिविरमा ज्येष्ठ नागरिकले मधुमेह, मिर्गौला, नाक, कान, घाँटी, आँखालगायत निःशुल्क स्वास्थ्य परीक्षण गराए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मधुराम केसीले चालू आर्थिक वर्षको योजना अन्र्तगत ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमार्फत सो सेवा दिएको जानकारी दिए। “चैत मसान्तभित्र बाँकी सात वडामा शिविर सम्पन्न गर्छौं,” केसीले भने, “हरेक एक दिनका दरले प्रत्येक वडामा शिविर सञ्चालन गर्दै आएका छौँ ।” कार्यक्रम अन्र्तगत ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।