काठमाडौँ, बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उनका दुई छोरी भए ।छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइन।
अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उनले एक रोधीमा वेटरको रुपमा काम शुरु गरिन । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि भएकि थिइन ।
कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय नभएपछि साथीको घरमा छोरी जिम्मा लगाएर काममा जान थालेको उनले बताइन, “हाम्रो कामकै कारण हाम्रो सन्तान समेत सुरक्षित छैनन् भने राज्यले हामीलाई सुरक्षा दिने कहिले” आफू मनोरञ्जन क्षेत्रको श्रमिक भएकै कारण आफ्ना छोरीसमेत सम्मानित नभएको उनको गुनासो थियो ।
नयाँ व्यक्तिले रोधी चलाउने भनेर उलगायत अन्य साथीलाई केही समयपछि पुनःबोलाउने बहानामा तीन महीनाको पारिश्रमिक समेत नदिइ पठाइयो । केही समयपछि रोधीका लगानीकर्ताले उनलाई उसैसँग बस्न भनी बोलायो तर उसको नियत ठिक नभएकाले थापाले इन्कार गरे । त्यो घटनाले उनलाई न त काममा बोलाइयो न त काम गरेबापतको पारिश्रमिक नै दिइयो । काममा बोलाउला भन्ने आशैआशमा थापाले अन्य ठाउँबाट आएको कामको प्रस्ताव समेत मानेका थिएनन ।
उनले श्रम विभागमा आफूले काम गरेको पारिश्रमिक पाउन भनी मुद्दा समेत दायर गरेपनि अहिलेसम्म पारिश्रमिक अझै पाउन सक्नुभएको छैन । “कि त हामीलाई कामको सुनिश्चितता चाहियो, होइन भने हाम्रो पारिश्रमिक समयमा नै दिए”, थापाको आक्रोस थियो । हाल उहाँ काठमाडौँकै एक रोधीमा काम गर्छिन ।
त्यसैगरी पोखराको एक स्पामा काम गर्दै आएकी २४ वर्षीय शर्मिला श्रेष्ठ आफूले यस क्षेत्रमा काम गर्दै जाँदा आफूमाथि धेरै नै शोषण भएको बताए । एकातिर परिवारको आर्थिक समस्या अर्को मासिक रु आठ हजार पारिश्रमिक मात्र । त्यसमाथि भनेको समयमा तलब नपाइने । अर्को समस्या त समाजले आफूमाथि हेर्ने दृष्टिकोण पनि नराम्रो । स्पामा काम गर्ने केटी भन्नेवित्तिकै सबैले चरित्रहीन जस्तै व्यवहार गर्ने गरेको उनको गुनासो थियो ।
श्रेष्ठले प्रश्न गरिन, “हामीलाई पनि अन्य क्षेत्रमा काम गर्ने मानिस सरहको सम्मानजनक व्यवहार कहिले गरिन्छ।” चाहेर पनि आफू यस दलदलबाट निस्कन नसकेको उनको भनाइ थियो । विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक शोषण त छ नै अर्कोतिर उनीहरू यौन शोषणका शिकार पनि बनिरहेका छन् ।
बुटवलको एक रोधी घरमा काम गर्दै आएकी रमिला मोक्तान आफू मनोरञ्जन क्षेत्रमा काम गरेकै कारण कोठा पाउनसमेत गाह्रो हुने गरेको दुखेसो पोखे । उनले भने, “बस्नको लागि कोठा भाडामा त पाइन्छ, तर राति अबेलासम्म काम गर्नुपर्ने हुँदा घरबेटीले ढोका नै खोलिदिँदैनन् ।” मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्नेवित्तिकै समाजको मात्र नभइ ग्राहकको समेत गलत नजर हुने गरेको उनले बताए ।
सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारका लागि पनि अन्य काम गर्ने व्यक्ति सरह नै सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आए पनि अहिलेसम्म सो व्यवहार नभएको उनीहरुको गुनासो थियो ।
प्रतिक्रिया