२४ गोही नदीमा छाडियो

२४ गोही नदीमा छाडियो


 

–नारायण अधिकारी
चितवन, घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका २४ गोहीलाई आज राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै गोहीलाई नदीमा छाडिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसहितका जनप्रतिनिधिको उपस्थितिमा गोही छाडिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यस वर्ष एक सयको हाराहारीमा गोही छाड्ने कार्यक्रम छ । कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ४०४ गोही छाडिएको उनले बताए । पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाड्ने गरिन्छ । प्रजनन केन्द्रमा हाल पाँच सयभन्दा बढी गोही छन् ।

प्रजनन् केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार आज छोडिएका गोहीमध्ये दुई भाले र २२ पोथी हुन् । एउटा गोही हुर्काउनका लागि रु १० लाख हाराहारी खर्च हुन्छ । नदीबाट अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर बच्चा हुर्काइन्छ । पछिल्लो गणनाअनुसार राप्ती र नारायणीमा करीब २०० गोही छन् । खड्काका अनुसार सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ देखि नदीमा छोड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्काएर राप्तीमा हालसम्ममा ७२४ गोही छाडिसकिएको छ भने नारायणीमा ३९९ गोही छाडिएको छ । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएको छ ।

नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । नेपालमा हुर्काएर नदीमा छोडेका गोही भारत पुग्ने गरेका हुन् । राप्तीमा गोही छोड्दै महानगरप्रमुख दाहालले संरक्षणमा स्थानीय निकायले सहयोग पु¥याउने बताएका छन । “नदीमा बढ्दै गएको प्रदूषण रोक्न महानगर प्रतिबद्ध छ”, उनले भने।

सो अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल, सहायक संरक्षण अधिकृत खड्का, भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष नरिनारायण पौडेल, पटिहानी उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतोलगायतले सबै एकजुट भएर संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

घडियाल गोही हराउँदै

अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही नदीमा छाडिँदै आएको भए पनि नदीमै हराउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिँदै आएको भए पनि गोहीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ देखि देशका विभिन्न नदीमा छोड्न शुरु गरिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत खड्काका अनुसार प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएभन्दा पनि हाल नदीमा रहेका गोहीको सङ्ख्या कम छ । नदीमा छाडिएका गोहीको संरक्षण हुन सकेको छैन । प्रजनन केन्द्रमा हाल पाँच सयभन्दा बढी गोही छन् । नदी किनारमा जोखिम अवस्थामा रहेका अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ८२, नारायणीमा ८४, बबईमा ३१ र कर्णालीमा एउटा गोही छ । कालीगण्डकी, सप्तकोशीलगायत नदीमा भने पछिल्लो समय गोही छोड्न छाडिएको छ । ती नदीमा गोही देखिन छाडेपछि छोड्न पनि छाडिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार नदी प्रदूषित हुनु, नदीजन्य पदार्थको दोहन हुनु, मानव अतिक्रमणले आहारा प्रजाति नष्ट हुँदै जानु लगायतका कारण पछिल्लो समय घडियाल गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्छन् ।

राप्ती र नारायणी नदीबाट भारत पुगेका गोही गण्डक ब्यारेजका कारण नेपाल फर्किन सक्दैनन् । नदीमा बर्षेनी ठूलो सङ्ख्यामा गोही छाडिँदै आए पनि नदीमा हाल सङ्ख्या न्यून देखिएको छ । छोडेका गोही के कति भारत जान्छन् भनेर अध्ययन भइरहेको ढकाल बताउछन । दुई महीनाअघि पाँच गोहीमा भिएचएफ र सेटलाइट जडान गरी नदीमा छाडिएको छ । थप गोहीलाई समेत जडान गरी छोड्ने तयारी भइरहेको उनले बताए । “ती गोही कहाँ जान्छन् अनुगमन भइरहेको छ”, ढकालले भने प्रमुख संरक्षण अधिकृत ढकाल प्रजनन केन्द्रमा हुर्काएर नदीमा नछाडिएको भए हालसम्म नेपालका नदीहरुमा घडियाल गोही समाप्त भइसक्ने बताउछन ।