सिरहामा हालसम्म ८१ जना कुष्ठरोगीको निःशुल्क उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका क्षय कुष्ठरोग अधिकृत उमेश यादवले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा हालसम्म ८१ जना कुष्ठरोगीको उपचार भइरहेको जानकारी दिएका छन ।
सिरहामा योसँगै हालसम्म कुष्ठरोगीको सङ्ख्या १०० भन्दा बढी पुगेको अधिकृत यादवको भनाइ छ । अघिल्लो वर्षमात्रै सिरहाका विभिन्न गाविसमा २९ जना नयाँ कुष्ठरोगी फेला परेको थियो । तर स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएका कारण यसवर्ष जिल्ला जनस्वास्थ्य कार्यालयले कुष्ठरोगीको तथ्याङ्क सङ्कलन गर्न नसकेको जनाएको छ ।
कुष्ठरोगीको उपचार जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुँदै आएको छ । समयमै उपचार गरे कुष्ठरोग निको हुने चेतनाको अभावमा दलित विपन्न समुदायका कुष्ठरोगी अझै स्वास्थ्य उपचारका लागि अस्पतालसम्म नपुग्ने गरेको पाइएपछि उहाँहरुलाई लक्षित गरी चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको अधिकृत यादवले बताएका छन ।
कुष्ठरोग लागेकाले आच्छयुँ गर्दा निस्कने किटाणु हावामा मिसिएर श्वास प्रश्वासका माध्यमबाट सर्ने भएकाले त्यसतर्फ सचेत हुन चिकित्सकको सुझाव छ ।
प्रतिक्रिया