पाँचथर, जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ ।
उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि खर्कको अभावले भेडीगोठ छोडको हुन । अहिले गुरुङसँग ५० भेडामात्र छन् तर आफ्नो गोठमा होइन, अर्काको गोठमा । २०२१ सालदेखि भेडीगोठ बस्न थालेका क्यादरलालका भेडा आफ्नो गोठ नभएपछि अहिले अर्कै गोठको गोठालाले हेर्छ । उत्तरपूर्वी पाँचथरको याङवरक–१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेडीगोठ गत वर्ष बेच्नुभयो । अहिले उहाँ अर्कै पेशामा छन ।
क्यादरलाल र गर्जमानजस्तै अन्यले पनि भेडीगोठ छाडेका छन् । गर्जमानले भने– “१५ वर्षअघि पाँचथरमा मात्र एक दर्जन जति भेडीगोठ थिए, त्यो सङ्ख्या घट्दै आएर अहिले तीन वटामा झरेको छ ।” उहाँका अनुसार चरिचरन क्षेत्रको अभाव भेडीगोठ मासिनुको प्रमुख कारण हो । किसानले अलैँची, चिराइतो, अम्लिसोजस्ता बिरुवा लगाएपछि तल्लो क्षेत्रमा खर्कको अभाव हुँदा भेडीगोठको अस्तित्व सङ्कटमा परेको हो ।
एउटा चोकमा कम्तीमा २०० भन्दा बढीको सङ्ख्यामा भेडा हुन्छन् । त्यसैले राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक हप्तादेखि दश दिनसम्म मात्र भेडा राख्न सकिन्छ । घाँस कम भएको क्षेत्रमा बढीमा पाँच दिनसम्म मात्र राख्न सकिन्छ । एउटा खर्कदेखि अर्को खर्कमा सारिरहनुपर्ने भएकाले भेडाको लागि ठूलो चरन क्षेत्र आवश्यक पर्ने गर्जमाको भनाइ छ । तर, विभिन्न बिरुवा र बाली लगाइएपछि विगतका चरन क्षेत्र अहिले साँघुरो बनेका छन् । गर्मीयाममा लेकको खर्कले धाने पनि जाडोयाममा बेँसी क्षेत्रमा चरन क्षेत्र अभाव हुँदा भेडीगोठ लोप हुने अवस्थामा पुगेको क्यादरलालले बताए।
नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रको भारततिरको भू–भागमा कडाइ गरिएपछि अहिले लेक क्षेत्रमा पनि चरिचरनको समेत समस्या रहेको भेडीगोठ व्यवसायी बताउँछन् । त्यस्तै भेडालाई जङ्गली जनावरले आक्रमण गर्ने, विभिन्न रोग लाग्ने र गोठालो नपाइने समस्याले पनि भेडीगोठ मासिँदै गएको कृषकको गुनासो छ । अहिले जिल्लामा याङवरक च्याङ्थापुका वीरबहादुर बेघा, फालेलुङ मेमेङका टेकबहादुर गुरुङ र फालेलुङ खुगाँका दीपेन्द्र आङ्बोले मात्र भेडीगोठको अस्तित्व बचाइरहेका छन् ।
भेडाबाट लाभै लाभ
भेडापालन व्यवसायमा मुख्य आम्दानीको स्रोत पाठापाठी, ऊन र घ्यूको बिक्री हो । भेडाको ऊनबाट आकर्षक राडीपाखी बनाइन्छ भने घ्यू औषधिको रूपमा प्रयोग हुन्छ । तीन सय भेडासहितको रु १५ लाख मूल्य बराबरको भेडीगोठ सञ्चालन गर्दै आएका दीपेन्द्र आङ्बोका अनुसार भेडाको घ्यू आगोले पोलेको, पिल्सेको र हातखुट्टा मर्केको अवस्थामा औषधिको रूपमा प्रयोग गरिन्छ । उहाँले भने, “अहिले हामी अढाइ महीनासम्मको पाठापाठी प्रतिगोटा दश हजार, घ्यू प्रतिकेजी रु दुई हजार ५०० र ऊन प्रतिकेजी रु ४०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”
अहिले राडीपाखी बनाउन सीप भएकानै कम भेटिने हुनाले ऊनको बिक्री खासै राम्रो नभएको भेडापालक व्यवसायी बताउँछन् । ओछ्याउनलाई आधुनिक र आकर्षक किसिमका बजारीया सामग्रीमा मानिसको आकर्षण बढेपछि घरैमा बनाइने राडीपाखी कम बिक्ने गर्दा अत्यन्तै कमले मात्र राडीपाखी व्यवसाय गर्ने गरेको उनीहरूको भनाइ छ । भेडीगोठ लोप भएर सकिने अवस्थामा पुगेपछि भेडालापनलाई हराएर जान नदिन केहीले खोरमै कोचेर भेडा पालिरहे पनि खोरका भेडा खुला खर्कमा रमाउँदै चर्ने भेडाजस्तो नहुने भेडीगोठ सञ्चालक टेकबहादुर गुरुङले बताएका छन ।
राज्यस्तरबाटै पहल हुनुपर्ने
राज्यस्तरबाट खर्कको व्यवस्थापन, औषधोचारको व्यवस्था, ऊनको बजार व्यवस्थापन जस्ता भेडीगोठलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याइए भेडीगोठ मासिएर जानबाट रोक्न सकिने कृषकको भनाइ छ । विगतको तुलनामा अहिले भेडीगोठबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न समस्याले भेडीगोठ राख्नै नसकिने अवस्था सिर्जना हुँदै गएको कृषकको गुनासो छ । पाँचथरमा मात्र होइन, छिमेकी ताप्लेजुङ र इलाम जिल्लामा पनि भेडीगोठ मासिएर जाने अवस्थामा पुगेको छ ।
भेडीगोठ संरक्षणका लागि आवश्यक योजना बनाउन छलफल भइरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङको भनाइ छ । आउँदो आर्थिक वर्षमा भेडीगोठ संरक्षणका लागि कार्यक्रम ल्याइने केरुङले बताउएका छन ।
प्रतिक्रिया