खेतबारीमा विषादीको बढ्दो प्रयोगले माटो, मान्छे र वातावरण संकटमा

खेतबारीमा विषादीको बढ्दो प्रयोगले माटो, मान्छे र वातावरण संकटमा

पार्वती खड्का

नेपालको कृषि प्रणाली अहिले एउटा दोधारमा उभिएको छ । एकातिर उत्पादन बढाउनको नाममा रासायनिक विषादीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ भने अर्कोतर्फ यसको दीर्घकालीन असर माटो, पानी, जनस्वास्थ्य र जैविक विविधतामाथि गम्भीर रुपमा परिरहेको छ। ‘विषादी प्रयोग बिना अन्न फल्दैन’ भन्ने सोचले अहिले गाउँदेखि शहरसम्म किसानहरूलाई प्रभावित पारेको छ। तर यो सोच अब देशकै भविष्यका लागि घातक बन्दै गएको संकेतहरू देखिन थालेका छन्।

विगत केही वर्षयता नेपालमा विभिन्न रोग र किराहरू नियन्त्रण गर्नका लागि किसानहरूले अत्यधिक मात्रामा कीटनाशक, खरपतवारनाशक, र रोगनाशक विषादी प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ। कृषि मन्त्रालयका अनुसार हरेक वर्ष देशमा झण्डै पाँच हजार टनभन्दा बढी विषादी आयात हुने गरेको छ। तीमध्ये धेरैजसो विश्व स्वास्थ्य संगठनले ‘अत्यन्त खतरनाक’ श्रेणीमा राखेका विषादी हुन्। ग्रामीण क्षेत्रमा अझै पनि किसानहरू हातमा पञ्जा र मुखमा मास्क बिना नै ती रसायन छर्किरहेका छन्। यसले उनीहरूका शरीरमा दीर्घकालीन असर पुर्‍याइरहेको चिकित्सकहरू बताउँछन्।

माटो विशेषज्ञ शिर प्रसाद बिष्टको भनाइमा ‘‘विषादीले माटोको उर्वरता घटाउने मात्र होइन, माटोमा बसोबास गर्ने लाभदायक जीवाणुहरूलाई समेत मारिदिन्छ। फलस्वरूप माटो बाझो हुँदै जान्छ र किसानलाई हरेक वर्ष अझ बढी विषादी प्रयोग गर्न बाध्य बनाउँछ। यसले ‘विषको चक्र’ बनाएको छ । जसबाट न किसान न उपभोक्ता कसैले पनि बच्न सकेका छैनन्।’’

वातावरणविद्हरूका अनुसार विषादीको अति प्रयोगले हावामा र पानीमा समेत प्रदूषण फैलिएको छ। खेतबारीबाट बगेका विषादी मिसिएको पानी नदीनालामा पुगेर माछा, र अन्य जलीय जनावरहरूको जीवनमा असर पारिरहेको छ। धेरै ठाउँमा माछा मर्ने, घाँस नबढ्ने, र वन्यजन्तुहरू हराउँदै जाने घटनाहरू तीव्र भइरहेका छन्।

मानव स्वास्थ्यमा पनि यसको असर स्पष्ट देखिएको छ। विषादीको अति प्रयोग भएका क्षेत्रका बासिन्दामा क्यान्सर, छाला रोग, श्वासप्रश्वासका समस्या र प्रजननसम्बन्धी रोगहरू बढेका छन्। विशेष गरी विषादी छर्कने किसानहरूमा हातखुट्टा पोल्ने, टाउको दुख्ने, र मुटुमा असर पर्ने समस्या बारम्बार देखिएको छ। तर ग्रामीण क्षेत्रमा जनचेतना अभावका कारण यो समस्या अझै पनि बेवास्तामा परेको छ।

यता, विषादीको विकल्पका रूपमा जैविक खेतीको अभ्यास विस्तार गर्नका लागि केही किसान र संस्था सक्रिय भएका छन्। ललितपुर, भक्तपुर, र कास्की जस्ता जिल्लामा जैविक तरकारी उत्पादन र बजार प्रणालीलाई प्रोत्साहन गर्ने प्रयासहरू भइरहेको देखिन्छ। तर ती प्रयासहरू अहिले पनि सीमित दायरामा मात्र सीमित छन्। सरकारी नीति र अनुगमन कमजोर हुँदा विषादीको नियन्त्रण प्रभावकारी बन्न सकेको छैन।

नेपालमा विषादीको प्रयोग नियमनका लागि कानूनी संरचना भए पनि कार्यान्वयनमा कमजोरी देखिन्छ। बजारमा अझै पनि अवैध र म्याद सकिएका विषादीहरू सहजै पाइन्छन्। उपभोक्ताले विषादीमुक्त खानेकुरा पाउने अधिकार कानुनले सुनिश्चित गरे पनि व्यवहारमा त्यो अधिकार लागू हुन सकेको छैन।

अब आवश्यक छ । सरकार, किसान र उपभोक्ता सबैले मिलेर दीगो र स्वस्थ कृषि प्रणालीतर्फ सोच्न आवश्यक छ । विषादीको प्रयोग घटाएर जैविक विकल्पतर्फ जाने हो भने मात्र हाम्रो माटो, हाम्रो स्वास्थ्य र हाम्रो वातावरण सुरक्षित रहन सक्छ। नत्र भने, उत्पादनको लोभमा कृषकले आफैंलाई विष पिलाउँदै छ भने मानवजीवन बिरामी र भयाबह पार्ने बाटोमा नेपाल र नेपालीहरु हिडिँरहेका छन भन्दा फरक नपर्ला ।