संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन र अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार, सन् २०२३ मा पृथ्वीको वातावरणमा कार्बन डाइअक्साइड (CO₂) को स्तर ऐतिहासिक उच्चतममा पुगेको थियो । NOAA का अनुसार, २०२३ को औसत CO₂ स्तर ४१९.३ पार्ट्स प्रति मिलियन (ppm) रहेको थियो । जुन पूर्वऔद्योगिक युगको तुलनामा ५० प्रतिशत बढी हो । यसैगरी, विश्व मौसम संगठनका अनुसार, २०२४ मा कार्बन डाइअक्साइड (CO₂) को स्तर ४२७ पिपिएम पुगेको थियो, जुन ८००,००० वर्षको इतिहासमा सबैभन्दा उच्च स्तर हो ।
यस वृद्धिको मुख्य कारण मानवजन्य क्रियाकलापहरू, विशेष गरी जीवाश्म इन्धनको दहन, सिमेन्ट उत्पादन, वनस्पति नाश र जैविक इन्धनको दहन हो। यी क्रियाकलापहरूले वातावरणमा कार्बन डाइअक्साइड CO₂ र अन्य हरितगृह ग्यासहरूको मात्रा वृद्धि गर्दै पृथ्वीको तापमान वृद्धिमा योगदान पुर्याइरहेका छन्।
यस वृद्धिले जलवायु परिवर्तनका विभिन्न नकरात्मक प्रभावहरू निम्त्याएको छ। २०२४ मा, महासागरीय तापक्रम ऐतिहासिक उच्चमा पुगेको थियो । समुद्रको सतह वृद्धि भएको छ। हिमनदीहरू तीव्र गतिमा घटिरहेका छन्, र चरम मौसमी घटनाहरूको संख्या र तीव्रता बढेको छ । यसका कारण खाद्य संकट, जनसंख्या विस्थापन र आर्थिक क्षति जस्ता समस्याहरू उत्पन्न भएका छन्।
यस समस्याको समाधानका लागि, वैज्ञानिक र नीति निर्माताहरूले जीवाश्म इन्धनको दहनमा तीव्र कटौती गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। २०२५ सम्म नयाँ र बलियो जलवायु योजनाहरू लागू गर्नुपर्ने र २०३० सम्म उत्सर्जनमा ४२ प्रतिशतको कटौती गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि, नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगमा वृद्धि, ऊर्जा दक्षता सुधार र हरितगृह ग्यासहरूको उत्सर्जनमा कटौती आवश्यक छ। कार्बन डाइअक्साइड वृद्धिले पृथ्वीको जलवायु प्रणालीमा गम्भीर असर पुर्याइरहेको छ र यसलाई नियन्त्रण गर्नका लागि तत्काल र प्रभावकारी कदमहरू आवश्यक छन्।
प्रतिक्रिया