वायु प्रदूषण

विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौँ

विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौँ


काठमाडौँ । मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।

काठमाडौँको एक्यूआई २६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।