केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा आइतवार साँझ एकाएक उच्च तहमा पुगेको वायु गुणस्तर मापन गर्ने निकायहरूले जनाएका छन्।
वातावरण विभागका अनुसार आइतवार साँझ काठमाण्डू उपत्यकामा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०० पुगेको थियो।
सोमवार अपराह्ण विभिन्न समयमा पनि राजधानीमा त्यस्तो सूचकाङ्क १०० भन्दा माथि पुगेको छ ।
नेपालमा एक्यूआई ४० भन्दा तल भएको अवस्थालाई सामान्य मान्ने गरिएको विभागका अधिकारीहरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई “अस्वस्थ” मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई “खतरनाक” मानिन्छ।
विगतमा नेपालमा पनि एक्यूआई ३०० भन्दा माथि पुग्दा विद्यालयहरू बन्द गर्ने लगायतका कदम चालिएको थियो।
तत्काल पानी पर्ने सम्भावना कम
मौसमविद् तथा जानकारका अनुसार यसरी वायु प्रदूषण बढेका बेलामा वर्षा भए त्यसले प्रदूषण न्यूनीकरणमा सहयोग गर्छ।
तर नेपालमा केही दिन खासै वर्षा हुने सम्भावना छैन।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।
साभार: बिबिसी
प्रतिक्रिया