विद्यासुन्दरको ‘स्मार्ट सिटी’ भाषणमै सीमित

विद्यासुन्दरको ‘स्मार्ट सिटी’ भाषणमै सीमित


काठमाण्डौं–चुनावताका अस्तव्यस्त काठमाडौंलाई सपार्ने विद्यासुन्दर शाक्यको एजेण्डा सुन्दा सहरवासी लोभिएका थिए । त्यतिबेला उनको ‘स्मार्ट सिटी’ अवधारणा शहरवासीलाई निकै ‘गुलियो’ लागेका थियो  । तर, यति मिठा सपना बाँडेर चुनाव जितेका काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य यतिबेला अस्तव्यस्त शहरदेखि बेखबर छन ।

 

खानेपानी तथा ढल निकास,अव्यवस्थित सडक, धुलो प्रदुषणजस्ता समस्याले महानगरवासीको दैनिकीलाई  कष्टकर बनाएको छ । अव्यवस्थित ढंगले टगाइएका तारले शहरी सौन्दर्यता मात्रै बिगारेको छैन,खतरा पनि बढ्दै गएको छ । गतबर्ष त्रिपुरेश्वरमा तार सर्ट भएर आगलागी हुँदा एकजना घाइते समेत भएका थिए ।

गुजुल्टो पारेर राखिएका तार सर्ट भएर पटक–पटक आगलागी हुने गरेका छन् ।  त्यस्तै होडिङबार्ड सडकको भित्तामा जथाभाबी केरमेट गर्ने र पान खाएर थुक्ने जस्ता क्रियाकलाप कुनै अनौठो भएन ।
एकातिर भूकम्पका कारण भत्किएका संरचनाहरु अलपत्र छन् भने अर्कातिर ऐतिहासिक महत्वका संरचनाहरुको पुनःनिर्माणको  बनाउने कुनै अत्तोपत्तोनै छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग यसबारेमा प्रतिक्रिया लिन समय लिएर भेटन जाँदा कुनै प्रतिक्रिया दिन मानेनन् ।

महानगरवासीलाइ स्मार्ट सिटी बनाउने, सडकको फोहोर ५ बजे अगाडी उठाइसक्नुपर्ने लगायतका घोषणापत्रले एकपटक शहरवासीलाइ खुबै जोस्यायो । विद्यासुन्दरले यही घोषणपत्रलाई चुनाव जित्ने फण्डा बनाए । स्मार्टसिटीको अर्थ सफा सुन्दर हराभरा हरियाली वातावरण निर्माण गर्नूृ हो ।

सफा र व्यवस्थित शहरको मापदण्ड पुरा गर्नका लागि ५ वटा इन्डिकेटर पुरा गर्नुपर्छ भनेर शहरी विकास  मन्त्रालयले २०७२ सालमा एउटा अवधारणापत्र ल्याएको थियो । जसलाई यसरी हेर्न सकिन्छ ।

१. खानेपानी तथा उचित ढलनिकासको उचित  व्यवस्थापन ।
२.शहरी सौन्दर्य, सडक व्यवस्थापन ।
३. भवन निर्माण तथा व्यवस्थापन ।
४. फोहोरमैलाको उचित व्यस्थापन ।
५. प्रदुषण नियन्त्रण

उदाहरण
खानेपानी तथा ढलनिकाशको त कुरै नगरौ, वर्षातको पानीले नदी आसपासका बस्ती डुब्दै आएका छन् । शहरमा विगत ३० वर्ष अगाडिदेखि मेलम्चीखोलाको पानी काठमाडौंमा ल्याउने हाउगुजी फैलाइयो तर काम भने अझै सम्पन्न हुन सेकेको छैन । नदिमा ढल मिसाउने अभ्यास चलिरहेकै छ, जसले वाग्मतीलाइ ढलमति बनाएको छ, यसको बारेमा महानगरपालिकाले प्रभावकारी रुपमा काम गर्न सकेको छैन भने सरोकारवाला निकाय पनि बेखबर जस्तै बनेको छ ।

उदाहरण
शहरी सौन्दर्यता कायम राख्ने जिम्मा महानगरपालिकाको हो । २०७४ साल साउन १ गतेबाट महानगरपालिकाले सडकमा गुजुल्टो पारेर राखिएको तार टिपरमा उठाएर व्यस्थापन गर्ने बाहेकको सहरी सौन्दर्यतामा खासै उल्लेख्य अरु केही काम गर्न नसकेको स्वीकार्छन् काठमाडौं महानगरपालिकाका प्रवक्ता नवराज ढकाल ।

प्रवक्ता ढकाल भन्छन–‘प्रवक्तासँग कुनै नीति निर्देशनको अधिकार हुँदैन, भइरेहको अभ्यासको जानकारी दिने मात्रै हो’ अलिकति बजेट तार व्यवस्थापनका लागि छुट्टयाइएको छ तर कार्यन्वयनमा आएको छैन ।’
अव्यस्थित सडकले शहरको सौन्दर्य मात्रै विगारेको छैन । खाल्टाखुल्टीका कारण दुर्घटना पनि हुने गरेका छन् ।  २०७२ सालको भूकम्पले शहरका अधिकांश ऐतिहासिक र पौराणिक महत्व बोकेका सांस्कृतिक संरचना जस्तै धरहरा, बसन्तपुर दरबार स्क्वायर लगायतका संरचाहरु भत्किएका छन । जसले शहरको संरचनालाई झन् भताभुंग बनाएको छ ।

 उदाहरण
भवन निर्माण निर्देशिका २०७३ आयो तर प्रभावकारी कार्यन्वयन हुन सकेन । भूकम्पबाट क्षतविक्षत बनेका भवन निर्माण कार्य अझै सम्म सम्पन्न भइसकेका छैनन् ।

उदाहरण
विकसित मुलुकहरुमा फोहोरमैलालाई रामै्र आम्दानीको श्रोत बनाउने गरिन्छ । नेपालमा त आम्दानीको त कुरै नगरौं फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले मात्रै बर्षेनी १२ कोरोड खर्च गर्दै आएको छ । करिब १८ वटा महानगरपालिकाले शहरको फोहोर सिसडोलस्थित ल्याण्डफिल साइटमा लगेर डम्प गर्दै आएका थिए । तर अहिले ल्याण्डफिल पनि भरिएको छ ।

पुरानै तरिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको महानगरपालिकासँग अहिले न कुनै दिर्घकालीन योजना छ, नत अर्को डम्पिङसाइट नै तयार अवस्थामा छ । बन्चरे डाँडांलाई अस्थाइ ल्याण्डफिल बनाउने भनिएता पनि २ वर्ष अगाडिनै यसको काम रोकिएको छ  । बन्चरेडाँडोको बाँकी काम  नगरपालिकाले गर्नेकि राज्यले भन्ने विषयमा अन्यौल छ ।

राज्यले यसका लागि बजेट समेत नछुट्याएको कारण स्थानीय तहले गर्न नसक्ने काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरले बताएका छन । कुँवर भन्छन् ‘फोहोरमैला व्यवस्थापनमा के गर्ने महानगरपालिका यस विषयमा योजनाविहिन बनेको छ ।’

‘अहिले शहर भित्र जताततै फोहोर उठन सकेको छैन । डम्पिङ साइट भरिएको छ । बन्चरे डाडाेंलाई डम्पिङसाइटको विकल्प देखाउँदै आएता पनि यो डम्पिङसाइट तयार हुन अझै कम्तिमा २ वर्ष लाग्ने विभागका प्रमुख कुँवरले बताए ।

उदाहरण
२० वर्ष भन्दा पुराना गाडीहरु सडकमा गुडिरहेका छन्, तर वातावरणमैत्री छैनन् । गाडीबाट निस्कने प्रदषित धुँवाले श्वासप्रश्वासमा प्रत्यक्ष असर पार्छ । पुराना गाडीहरुलाई  सरकारले प्रतिबन्धित गर्न सकिरहेको छैन । सडकका खाल्टाखुल्टी नपुर्दा यसको असर सडकका पैदल यात्रीलाई पनि परेको जोरपाटीमा डेरा गरेर बस्ने रितु श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन्– ‘गौशालादेखि जोरापाटीसम्म धुलाम्य  छ । कोठाबाट अफिस जान निस्केको हुन्छु,कहिलेकाहीँ गाडी नपाउँदा त हिडेरै जानुपर्छ  धुलोले नचिनिने हुन्छु ।’  चावहिल चोकैमा किराना स्टोर गर्दै आएका अर्का खुद्रा व्यापारी ओम लामासँग पनि रितु जत्तिकै पीडित छन ।

गुहेश्वरीमा डेरा गरी बस्ने  उनी भन्छन्, ‘बर्षातको बाढी २ पटक कोठामा पानि छिरिसक्यो, विहान सद्धे पसलमा आयो बेलुकासम्म धुलोले घाँटी बन्द हुन्छ, टन्सिलले थला पारिरहन्छ ।’ खोलाकिनारैमा डेरा भएका कारण रातभर बर्षातको पानीको बहाब बढयोे भने ओम लामालाई निन्द्रा लाग्दैन । उनी भन्छन– ‘बाढीले  कोठा डुबाउँला कि भन्ने डर हुन्छ’

वातावरणविद भुषण तुलाधरका अनुसार सडकको धुलो र सवारिबाट निस्कने कालो धुँवानै प्रदुषणको मुख्य कारक हो ।  यसले मानव स्वास्थ्यमा असर पारेको त छ नै भोलीको शहर पनि मानव वस्ती योग्य छ भने आधारहरु हराउँदै जान थालेको देखिन्छ ।

उनले यसबारे सरोकारवाला निकाय र शहरवासीले सोच्नुपर्ने बेला आएको बताए । उनले भने– ‘यहि गतिले शहरीकरण हुने हो र मान्छे शहर केन्द्रित मात्रै हुने हो भने शहरको भविष्य संकटमा पर्छ, त्यसैले यसबारे सोचौँ र शहरको प्रदुषण कम गर्ने उपाय अबलम्बन गरौं ।’

पार्वती खड्का