भोटाहिटी नजिक कालोपत्रे सडकमा माटो खसालेको भन्दै महानगरपालिकाले जेटिसी कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गराएको छ। त्यसैगरी जथाभावी होर्डङ बोर्ड र पर्चापम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको काठमाडौं महानगरपालिका प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए।
सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले क्रमशः पाँच–पाँच हजार जरिवाना तिराएको छ।
विभिन्न व्यक्ति र संस्थालाई मात्रै महानगरपालिकाले ५८ हजार रुपैयाँ जरिवाना तिराएको प्रमुख सापकोटाले बताए।
महानगर प्रहरीले महानगरको पूर्व क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ भने एक जनालाई कारवाही गरेको छ। त्यसै गरी, पश्चिम क्षेत्रबाट पनि दुईजनालाई पक्राउ गरी एकजनालाई कारवाही गरेको छ। मध्य क्षेत्रबाट पाँच जनालाई पक्राउ गरी पाँचै जनालाई कारवाही गरेको पनि सापकोटाले जानकारी दिए।
होर्डिङ बोर्ड हटाउँदै महानगर
काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। महानगरले शुक्रबारदेखि नगर प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो।
शुक्रबार माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएको सापकोटाले जानकारी दिए। भित्तेलेखनलगायत सहरी दृश्यमा प्रदूषण हुने गरी प्रचार सामग्री हटाउने कामलाई महानगरले तीव्रताको साथ काम गरिरहेको उनले बताए। कम्तीमा तीन वटा टोली बनाएर महानगरभरी नै परिचालन गर्ने भएको छ।
प्रतिक्रिया