विगत ११ दिनदेखि सूर्य नदेखिँदा असह्य जाडो

विगत ११ दिनदेखि सूर्य नदेखिँदा असह्य जाडो

Parbati

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नदेखिँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।

शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ ।

चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ ।

त्यस्तै विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा वृद्धि भएको छ । अत्यधिक चिसोले जिल्लाको हाट बजारमा मानिसको उपस्थिति न्यून भएको छ ।

चिसो बढेपछि जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सकले बताएका छन् ।