काठमाडौँ– चिनियाँ राष्ट्रिपति सी जिनपिङको स्वागतको लागि तीनकुनेमा रोपिएको दुबो चोरी हुन थालेपछि काठमाडौँ महानगरपालिकाले त्यसको सुरक्षाका लागि प्रहरीलाई अनुरोध गरेको छ। काठमाडौँ महानगरका अनुसार दुबो चोरिनुका साथै अन्य विरुवाहरू पनि हराउन थालेका छन्।
चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्व सन्ध्यामा महानगरले तीनकुनेको खाली जग्गामा वृक्षरोपण गर्नुका साथै दुबो रोपेर रातारात हरियो पार्क निर्माण गरेको थियो।
भ्रमण सकिएपछि एकातिर पानी हाल्न महानगरलाई महाभारत भएको छ भने अर्को तर्फ विरुवा संरक्षणको चुनौती थपिएको छ। भ्रमण लगत्तैै महानगरले विरुवामा पानी नहालेको र सुक्न थालेको भन्दै विभिन्न मिडियामा समाचार आएपछि महानगरले पानी हाल्न थालेको छ।
हाकाहाकीसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले हाकाहाकीसँग कुरा गर्दौ रोपिएको दुबो चोरी भएको र केही च्रक उप्काइएको बताए।
तीनकुनेको पार्कको रेखदेख र सुरक्षा केही समय सशस्त्र प्रहरीले गर्ने उनले जनाए। ‘हामीले सशस्त्रलाई सुरक्षाको लागि अनुरोध गरेका हौं,’ उनले भने।
सीको स्वागतका लागि तीनकुनेलाई चिटिक्क बनाउन जिम्मा काठमाडौँ महानगरले ३ वटा नर्सरीलाई दिएको थियो। करिब २५ लाख खचए गरेर सो मैदानमा दुबो, फूल र विरुबा रोपिएको हो। रुद्राक्ष, ज्याकारान्डा, कपुर, धुपी, कल्पी पाम लगायत ४ सय फुल र विरुवाहरु रोपिएको महानगरले जनाएको छ।
दुबो र विरुवा मर्न नदिनको लागि महानगरले दिनको दुई पटक (बिहान र बेलुका) पानी हाल्ने गरेको श्रेष्ठले बताए। ‘महानगरले ४ जना कर्मचारी खटाएको छ,’ उनले भने।
सरकारले विसं २०५९ मा तीनकुनेमा पर्क बनाउने योजना अघि सारेको थियो। प्रमुख श्रेष्ठले पार्क निर्माणको काम शुरु गरिएको दावी गर्छन तर त्यहा सीको भ्रमण अघि कुनै पनि काम भएको थिएन। अब तीनकुने पार्कभित्र पनि व्यवस्थित पार्क बनाउन मुर्ती राख्ने योजना महानगरको छ।
‘व्यवसायीक छलफल जारी छ, प्रधानमन्त्री कार्यालयका पनि कसरी त्यसलाई व्यवस्थित गर्न सकिन्छ भनेर छलफल हुँदैछ,’ उनले भने। निर्णय हुने बित्तिकै पार्क निर्माणको कामलाई तिब्र पार्ने उनको भनाई छ।
प्रतिक्रिया