महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका किसानले लगाएको गरिमा जातको धानमा बाला नलाग्दा किसान चिन्तित भएका छन् । धान पाक्ने समय हुँदा समेत गरिमा जातको धानमा एउटा पनि बाला लागेकाे छैन्।
सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङले गरिमा जातको धानको बीउ कैलाली र कञ्चनपुरमा पठाएको थियो। गरिमा जातको धान दोब्बर फल्ने भन्दै कैलाली र कञ्चनपुरका किसानले लगाएका थिए। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ३२ बिघामा यो धान लगाइएको छ। अन्य धान पाक्ने समय हुँदा समेत गरिमा जातको धानमा बाला नलागेको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका किसान दलबहादुर चौधरीले बताए। उनले डेढ बिघामा गरिमा धान लगाएका थिए। ‘गरिमा धानको बीउ भनि लगाएको धानमा अहिलेसम्म बाला लागेको छैन्,’ उनले भने,‘धानको गाँज राम्रै छ तर बाला लगेको छैन्।’
उनले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको डिके एग्रोभेटबाट गरिमा धानको बीउ खरिद गरेको बताए। धान राम्रो फल्छ भनेर ४ सय रुपैयाँ प्रति केजीका दरले बीउ खरिद गरेपनि एउटा पनि बाला नलागेपछि अनिकाल लाग्ने उनको गुनासो छ। गरिमा धानमा बाला नलागेको विषयमा एग्रोभेट र शुक्लाफाँटा–७ को वडा कार्यालयमा जानकारी दिएको चौधरी बताउँछन्।
यस विषयमा वडाका जनप्रतिनिधिले कृषि विज्ञसँग बुझ्ने बताएको र डिके एग्रो भेटले पनि धानको बीउ बिक्री गर्ने फर्ममा उक्त समस्या सुनाउने बताएको उनले जानकारी दिए। शुक्लाफाँटा नगरपालिका–७ का किसान हिक्मत चौधरी पनि गरिमा धानमा बाला नलागेको बताउँछन्। उनले गरिमा जातको धान १५ कट्ठामा लगाएका थिए। गरिमा धान अन्य भन्दा बढी फल्ने भनेपछि रोपेकोमा पाक्ने समय पनि बाला नलागेको उनको भनाइ छ । गरिमा धानको बीउ बिक्री गर्ने एग्रोभेटले यसको क्षतिपूर्ति दिनुपर्ने उनको धारणा छ।
‘यो धान लगाउँदा यस वर्ष हाम्रो मिहिनेत र लगानी खेर जाने भयो,’ उनले भने,‘यसको क्षतिपूर्ति गरिमा धानको बीउ बिक्री गर्नेले दिनुपर्छ ।’ अघिल्लो वर्ष पनि किसानले गरिमा धान रोपेका थिए। राम्रै फल लागेपछि यस वर्ष बढी किसानले यो धान लगाएका थिए। गरिमा जातको धानको बीउ सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङले कैलाली, कञ्चनपुर, चितवनलगायतका जिल्लामा बिक्री गरेको थियो । सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङले यस वर्ष १३ हजार केजी धानको बीउ बिक्री गरेको सेन्टरका प्रमुख दिवानजङ्ग चौधरीले बताउँछन्। उनले बिक्री गरिएको ४० प्रतिशत धानमा बाला नलाग्ने समस्या देखिएको बताए । ‘गरिमा धानको बीउ भारतबाट ल्याएको थिएँ,’ उनले भने,‘पहिलो पटक ल्याएको धानमा समस्या देखिएन्, दोस्रो पटकको धानमा बाला नलाग्ने समस्या देखियो।’ कैलाली, कञ्चनपुर, चितवन र बर्दियाका किसानले लगाएको धानमा बाला नलागेको उनको भनाई छ। ‘यो धानमा अहिलेसम्म यस्तो समस्या देखिएको थिएन्, यो पहिलो पटक भयो,’ उनले भने,‘अब, सरकारको निर्णय अनुसार किसानलाई क्षतिपूर्ति दिन्छौं।’
कृषि प्राविधिकद्वारा अनुगमन
कृषि प्राविधिकको टोलीले कञ्चनपुरमा लगाएको गरिमा धानको अनुगमन गरेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्राविधिकले शुक्रबार शुक्लाफाँटा, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा लगाएको गरिमा धानको अनुगमन गरेको हो।
किसानले गरिमा जातको धानमा बाला नलागेको गुनासो गरेपछि अनुगमन गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए । उनका अनुसार किसानले लगाएको गरिमा धानमा बाला लाग्ने सम्भावना कम छ । ‘अब चिसो शुरु हुन्छ, धानमा बाला लाग्नका लागि आवश्यक पर्ने तापक्रम कम भएर बाला लाग्दैन्,’ उनले भने,‘अहिले यो धान गरिमा हो या अन्य हो भनेर छुट्याउन गाह्रो छ, परीक्षण गरेपछि मात्र कुन जातको धान हो भनेर छुट्याउन सकिन्छ ।’ किसानले गरिमा धान भनेर लगाएको बीउ गरिमा जातको नभएको उनले बताए। ‘यो गरिमा जातको धान होइन्, अन्य जातको धान हो,’ उनले भने,‘धानको बीउ उत्पादन गर्ने फर्मले गरिमा धानको प्याकेटमा अन्य धानको बीउ राखेर बेचेको हुन सक्छ ।’ गरिमा जातको धान लगाएको १३०–१३५ दिनमा फलिसक्ने उनको भनाई छ। गरिमा जातको धानको बीउ नेपाल सरकारले सूचिकृत गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख भट्ट बताउँछन्।
‘गरिमा धान राम्रो फल्ने धान हो,’ उनले भने,‘यसको जातीय गुणअनुसार ९०–९५ दिनभित्र ५० प्रतिशत फूल लागि सक्नुपर्छ।’ कैलालीका किसानले लगाएको धानको अनुगमन गरेर प्रतिवेदन तयार गरिने उनी बताउँछन्। ‘अनुगमन गरेर प्रतिवेदन तयार पार्छौ,’ उनले भने,‘सरकारसँग बीउ बिक्री गर्ने फर्मलाई कारबाहीको माग गर्छौ।’ सुदूरपश्चि प्रदेशको कैलाली र कञ्चनपुरमा १ हजार विघामा गरिमा धान लगाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।
-hakahakionline
प्रतिक्रिया