बृहत् वृक्षरोपण एक भोट, एक बोट’

बृहत् वृक्षरोपण एक भोट, एक बोट’


कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको ‘एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियानको शुभारम्भ गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको आव २०७६÷७७ को नीति तथा कार्यक्रमअन्तर्गत आज सुर्खेतमा ‘एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियानको शुभारम्भ गरे ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीलाई हरित प्रदेशका रुपमा विकास गर्दै लैजाने बताए । “अहिले दिनानुदिन जलवायु तथा वातावरण परिवर्तन हुँदै गएको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसको असरलाई कम गर्न वन्यजन्तु जोगाउन वृक्षरोपण अति आवश्यक छ ।”
उनले भने, “वनको संरक्षण, प्रवद्र्धन गर्न सके कृषि, हाइड्रो, पर्यटन क्षेत्रमा पनि टेवा पुग्छ । वन धनका साथै स्वस्थजन निर्माण गर्ने महत्वपूर्ण क्षेत्र पनि हो ।” ।
वृक्षरोपण शुभाम्भ कार्यक्रममा प्रदेश राजधानी सुर्खेतस्थित मध्यपश्चिम पृतना क्षेत्रमा आँप, कटहर, च्यूरी, अमला बेललगायत गरी करीब ५०० बिरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले जानकारी दिए । कूल क्षेत्रफलमा ३८।५७ प्रतिशत भू–भाग वनले ओगटेको यो प्रदेशको वन क्षेत्र आगामी वर्षमा ४० प्रतिशत पु¥याउने लक्ष्य मन्त्रालयले राखेको उनको भनाइ थियो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि यो अभियानलाई प्रदेशव्यापी बनाएर तीन लाख पचहत्तर हजार बिरुवा रोप्ने लक्ष्य राखेको छ । कार्यक्रममा प्रदेश सरकारका सचिव, मध्यपश्चिम पृतना पृतनापति र त्यसअन्तर्गत सैनिक विद्यालयमा अध्ययनरत छात्रछात्राको सहभागिता थियो ।