परम्परागत आरन पेशाले जन्माएको आधुनिक उद्योग

परम्परागत आरन पेशाले जन्माएको आधुनिक उद्योग


बुटवल उपमहानगरपालिका–५ का कृष्ण विश्वकर्माले विगत डेढ दशकदेखि आरन पेशा सञ्चालन गर्दै आएका छन । उनको आरन उद्योगमा दैनिक पाँच जनालाई रोजगारी दिन्छन । उक्त व्यवसायबाट उहाँले राम्रो आम्दानी पनि गर्दै आएका छन ।

कृष्णले बुटवल–५ स्थित तिनाउ किनारमा रहेको सुकुम्वासी बस्तीमा रहेको आफ्नै घरमा विसं २०५९ देखि परम्परागत पेशाका रूपमा यो व्यवसाय चलाउँदै आउनुभएको हो । उनले फलामलाई आगोमा तताएर घनले पिटेर कृषि तथा घरेलु औजार उत्पादन गर्ने र साताको दुईपटक लाग्ने साप्ताहिक हाटबजारमा बेच्ने गर्दै आएका छन ।

परम्परागत आरनबाट यस्ता फलामे औजार बनाउँदा लागत, समय र मेहनत बढी लाग्ने बुझेर उहाँले उक्त उद्योगलाई यान्त्रिकीकरण गर्दै उद्योगको रुपमा स्थापना गर्नुभएको छ । परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्न उहाँलाई आफ्नै वडाका अध्यक्ष तेजप्रसाद सुनार र दलित समुदायले सञ्चालन गरेको विश्वज्योति सहकारी संस्थाले प्रोत्साहित गरेको हो । उनले अब कृषि तथा घरेलु हतियार बनाउने काम हातले घन पिटेर होइन, विद्युतीय मेसिनबाट गर्नेछन ।

स्थापनाकालमा रु एक हजार ५०० को लगानीबाट परम्परागतरूपमा शुरु गरेको आरन उद्योग अहिले आधुनिक प्रविधिका मेसिन जडान गर्दा अहिले लगानी करीब रु १५ लाखभन्दा बढी पुगेको कृष्ण आरनका सञ्चालक कृष्ण विक बताउनुहुन्छ । यसका लागि उनले विश्वज्योति सहकारीबाट मासिक ब्याजमा रु चार लाख ऋण लिएका । उद्योगमा मेसिन जडानलगायत कामका लागि बाँकी आफँैले लगानी गरेका हुन हुन ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ फलाम बजारमा कवाडी सङ्कलन केन्द्रबाट खरीद गर्नुहुन्छ । उत्पादित सामान बिक्री गरेर उहाँले दैनिक रु तीन हजार बचत हुने बताउछन । “कवाडीबाट पुराना फलामका टुक्रा ल्याउँछु, नयाँ सामान बनाएर बजारमा बिक्री गर्छु”, कृष्णले भने ।

कृष्णलाई आफूले उत्पादन गरेका फलामका सामग्री बिक्रीका लागि बजारको कुनै समस्या छैन । “सामान बनाएर हाटबजारमा बेच्छु, अरु समय हाटबजारकै व्यापारीका पसलमा पु¥याउँछु । बजारले मागे जति पु¥याउनै सकेको छैन”, उहाँले भन्नुभयो, “अब मेसिनले बनाउन थालेपछि बजारमा पु¥याउन सकिन्छ ।”

उनले आरनबाट हसिया, चुलेसी, चक्कु, करौती, बन्चरो, कुकुरी, कुर्पाजस्ता घरेलु कामका लागि आवश्यक पर्ने साना हतियार र कृषि कामका लागि आवश्यक पर्ने कुटो, कोदालो, फरुवा, खुर्पीलगायतका वस्तुहरु बनाएर बजारमा पु¥याएर बिक्री गर्दै आएका छन ।

बुटवल उपमहानगरपालिकाले यस्ता साना लगानीका घरेलु उद्योगलाई प्रोत्साहित गर्न आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि लक्षित समुदायको मूल प्रवाहीकरण, क्षमता विकास, संरक्षकत्व, अभिभावकत्व, सामाजिक परिचालन, टोल विकास संस्था, सामाजिक सङ्घसंस्थासँगको समन्वय, सहकार्य तथा परिचालन सामाजिक, सांस्कृतिक, विभेदविरुद्धका कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि भन्दै करीब रु २६ करोड अर्थात् कूल बजेटको १३।६८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले यस खालका कृषि तथा घरेलु औजारका सामग्रीको उत्पादन गर्ने लोप हुने अवस्थाका साना उद्योगलाई आधुनिकीकरण गर्ने उपमहानगरपालिकाले कार्यक्रम अगाडि सारेको बताउछन । उपप्रमुख आचार्यले उपमहानगरपालिकाले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने, उद्योगका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा सीपमूलक तालीम सञ्चालन गर्ने बताए ।

बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष तेजप्रसाद सुनारले यस्ता खालका पेशालाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दा स्वरोजगारमा परिणत गर्न सकिने बताउछन । परम्परागत ज्ञान, सीप, क्षमतालाई थप आधुनिकीकरण गरी व्यावसायिक बनाउन यस्ता पेशामा लागेकालाई तालीमसहित व्यवसाय सञ्चालनका लागि अनुदान र बजारको व्यवस्था हुनसके रोजगारी र सीपसहितको दक्ष जनशक्तिको विकास हुन्छ ।

प्रदेश नं ५ सरकारले पनि यस्ता खालका परम्परागत उद्योगलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने गरी आगामी आर्थिक वर्षमा कार्यक्रम अगाडि बढाउने गरी बजेटमै व्यवस्था गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा दलित समुदायले परम्परादेखि अँगाल्दै आएको परम्परागत शील्प व्यवसायको प्रवद्र्धन गर्न भगत सर्वजीत शील्प व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि रु दुई करोड विनियोजन गरेको छ ।
– भरत केसी