फोहर सङ्कलन गर्नेहरुको जमातमा शिक्षित युवा नै धेरै

फोहर सङ्कलन गर्नेहरुको जमातमा शिक्षित युवा नै धेरै


ललितपुर, शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् ।
पुनः प्रशोधन हुने पत्रिका, कागज, अण्डाको क्रेट, कागजका झोला, ट्वाइलेट पेपरभित्रको गोलो कागज, मञ्जनको खोल, निमन्त्रणा कार्ड, पानीको जार, फेसवास क्रिम र स्याम्पुका डब्बा, पोलिथिन झोला, बाल्टिन, दूधका प्याकेट, रेगुलेटर, स्टिलका भाँडा, तेल, बियर र अन्य मदिराको बोतल, प्रिन्टर, मोबाइल आदिलाई पाँच भागमा वर्गीकरण गरी सङ्कलन गरिएको डोको रिसाइक्लर्सका प्रमुख अर्पण आचार्यले जानकारी दिए

उनले भने, “उपत्यकामा बढ्दै गएको शहरीकरण, फोहर व्यवस्थापन गर्ने स्थानको अभाव र कुहिने तथा नकुहिने फोहर एकै स्थानमा व्यवस्थापन गर्ने बाध्यता हटाई वैज्ञानिक तरिकाले नयाँ स्वरुप दिन हामी दिन लागिपरेका हौँ ।” कुहिने फोहरलाई कम्पोस्ट मल बनाउने र पुनः प्रशोधन हुने फोहर व्यक्ति, सङ्घसंस्था, कार्यालय र होटलमार्फत सङ्कलन गरी कवाडी कारखानालाई दिने मूल्य बराबरको रकम सो कम्पनीले नै दिने गरेको उहाँले जानकारी दिए ।

मुख्य कार्यालय भक्तपुरको सानोठिमीमा रहेको उक्त संस्थाले सङ्कलन गरेको पुनः प्रशोधन हुने फोहर त्यहाँ लगी नयाँ रुप दिनाका साथै उचित मूल्यमा बिक्री–वितरण गर्दै आएका छन् । डोकाले शहरी क्षेत्रका जनतालाई घरघरबाटै फोहर सङ्कलन र व्यवस्थापनको समस्या समाधानमा सहयोग गरिरहेको छ । चक्रपथ बाहिरको दुई किलोमिटर पर सम्मका घरबाट पनि यस संस्थाले पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्ने गरेको छ । प्रमुख आचार्यले भने, “डोकोको वेबसाइट वा टेलिफोनमार्फत हामीलाई पुनः प्रशोधन हुने फोहर सङ्कलनका लागि तपाईंहरुले सम्झनु सक्नुहुनेछ ।” रुट वर्गीकरणका आधारमा डोकोले उपत्यकाका तीनै शहरबाट फोहर सङ्कलन गर्दै आएको छ ।

पुनः प्रशोधन हुने सामग्रीलाई डोकोले दुई तरिकाबाट प्रयोग गर्छ । पहिलो सामान जस्ताको तस्तै अर्को कामका लागि प्रयोगमा ल्याउनु र दोस्रो ती सामानलाई नयाँ स्वरुपमा बदल्नु हो । पुराना सामानलाई काँटछाँट गरी सिङ्गारेर नौलो रुप दिनु डोकोको विशेषता बनिसकेको छ । यस कार्यबाट उपत्यकाका फोहर मोहरका रुपमा परिवर्तन भइरहेका छन् ।