आफ्नै भवनमा नगरपालिका

आफ्नै भवनमा नगरपालिका


खोटाङ, हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा सरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको करीब दुई वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको हो ।

वडा नं ५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहीबारदेखि कामकाज थालिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । स्थानीयवासीले निःशुल्क दिएको जग्गामा रु ७० लाखभन्दा बढी खर्चमा ‘एल’ आकारको १५ कोठे भवन निर्माण गरिएको हो ।

नगरपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयवासी चार जनाले रु एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी जग्गा निःशुल्क दिनुभएको थियो । स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले निःशुल्क जग्गा दिएका हुन।

हालसम्म तत्कालीन गाविसको कार्यालय दुर्छिमको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका नयाँ भवनमा सरेपछि सेवा प्रवाह सहज भएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए। दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङमा अझै सात स्थानीय तह भाडाको घरमा छन् ।

यसअघि दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका आफ्नै भवन निर्माण गरेर सरिसकेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरिरहेको छ भने अन्य छ स्थानीय तह भवन निर्माण प्रक्रियामा रहेका छन् ।