काठमाडौँ, विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ ।
सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै गई सन् २०१६ मा २५२ मा सीमित भएको सर्वेक्षणमा जनाइएको छ । त्यस्तै सन् २०११ मा १०२ घडियाल रहेकामा सन् २०१८ मा यो सङ्ख्या २१९ रहेको छ ।
३२ लाख घनफिट काठ सङ्कलन
सरकारले आव २०७५÷७६ मा वार्षिक ६० लाख घनफिट काठ उत्पादनको लक्ष्य लिएकामा गत फागुनसम्म ३२ लाख १३ हजार ६८४ घनफिट काठ र पाँच हजार २८८ चट्टा दाउरा सङ्कलन भएको छ । वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रलाई समृद्धिको आधार बनाउन वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम लागू गरेको थियो ।
आव २०७४÷७५ सम्म १५ साझेदारी वन, ३२६ सामुदायिक वन र छ चक्ला वनमा प्राथमिकताका साथ वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू भइसकेको छ । सर्वेक्षणअनुसार नेपालको कूल वन क्षेत्र ४४ दशमलव सात प्रतिशत छ भने भूधरातलीय अधारका सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा छ र सबैभन्दा कम तराईमा छ ।
सबैभन्दा बढी वन कर्णालीमा
प्रदेशगत वन क्षेत्रमध्ये सबैभन्दा बढी कर्णालीमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । संरक्षित वन क्षेत्रमध्ये सबैभन्दा बढी ४५ दशमलव आठ गण्डकी प्रदेशमा र सबैभन्दा कम १० दशमलव पाँच प्रतिशत प्रदेश नं २ मा छ ।
संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटक र राजश्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको छ । आव २०६६÷६७ मा तीन लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकोमा आव २०७४÷७५ मा छ लाख ९९ हजार पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।
यस अवधिमा राजश्व परिचालन रु १४ रु करोडबाट उल्लेखनीय वृद्धि भई रु ७१ रु करोड पुगेको छ । चालू आवको आठ महीनामा चार लाख ४० हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको र यसबाट रु ३९ दशमलव दुई करोड राजश्व सङ्कलन भएको सर्वेक्षणमा उल्लेख छ ।
प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र
सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र र १११ रुख पर्छ भने विश्वमा प्रति व्यक्ति शून्य दशमलव छ हेक्टर र ४२२ रुखहरु पर्छ ।
चीन तथा दक्षिण एशियाली मुलुकको वन क्षेत्र हेर्दा कूल वन क्षेत्रको १८ दशमलव छ प्रतिशत वन क्षेत्र रहेको छ । दक्षिण एशियाली मुलुकममध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको ७२ दशमलव पाँच प्रतिशत रहेको छ भने सबैभन्दा कम पाकिस्तानको एक दशमलव नौ प्रतिशत रहेको छ ।
सरकारले नेपालका वनस्पतिको पहिचान, व्यवस्थापन तथा स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन तथा अनुसन्धान र अभिलेखीकरणको कार्य अघि बढाएको छ । गत फागुनसम्म छ हजार ७०० हर्वेरियम नमूनाको डिजिटलमा राखिएको सर्वेक्षणमा जनाइएको छ ।
–भीष्मराज ओझा
प्रतिक्रिया