डडेलधुरा जलवायु परिवर्तन भनेको मौसमको अचानक परिवर्तन हुनु हो जसको लक्षण भनेको तापक्रम बढनु हिउदमा पनि बर्षात भइरहनु हो । डडेलधुराको अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पु¥याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट भएको हो ।
दिउँसो करीब एक घण्टा परेको असिनापानीले पाक्न थालेको गहुँ र जौँसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको अजयमेरु–१ का लक्ष्मी भट्टले जानकारी दिनुभयो । साथै ओखर, जुनार, सुन्तलामा समेत क्षति पुगेको भट्टको भनाइ थियो । त्यस्तै तरकारी पनि पूर्णरूपमा नष्ट भएको खतेडाका किसान धर्मानन्द भट्टले बताए ।
भित्र्याउनै लागेको गहँुबाली पूर्णरूपमा नष्ट भएपछि खाद्यान्नको अभाव हुने भन्दै स्थानीयबासिन्दा गणेश पाण्डेले चिन्ता व्यक्त गर्नुभयो । गाउँपालिकाको लेकाली गाउँमा गँहु प्रमुख खाद्यबालीका रूपमा रहेको बताउँदै पाण्डेले भने, “ गहुँबाली नष्ट हुँदा अब के खाने भन्ने पीरले सताएको छ ।”
असिनापानीले भएको क्षतिको अनुगमन गरेर विवरण लिने काम भइरहेको र क्षतिपूर्तिका लागि कार्यपालिकाको बैठकबाट निर्णय लिने गाउँपालिका अध्यक्ष उमेश भट्टले बताउनुभयो । यसैगरी गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ । करीब ४५ वर्षपछि यति ठूलो असिनापानी परेको स्थानीयवासी वडा नं १ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए ।
प्रतिक्रिया