विज्ञ भन्छन ‘ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्ष परकम्प’ जान्छ

विज्ञ भन्छन ‘ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्ष परकम्प’ जान्छ


चितवन, भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो ।

पौडेलका अनुसार जमीनमुनि इण्डियन र तिब्बतियन प्लेट निरन्तर ठोक्किइरहन्छ । इन्डीयन प्लेट तिब्बतीयन प्लेटको मुनि पस्नेक्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीयमाध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्प गइरहने पौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पले दिने उनले बताए ।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्प मात्र जाने पौडेलले बताए । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनि बताउछन सन् १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रबिन्दु भई भूकम्प जाँदा १० हजार ७०० जनाले ज्यान गुमाएको र त्यसको प्रभाव भारतको दरबङ्गासम्म पुगेको उनले बताए ।

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको र अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको पौडेलले बताए । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि ठूलो भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ । भूकम्पीय जोखिम कम गर्न सरकारले सर्वसाधारणलाई सचेत गराउनुपर्ने पौडेल बताउछन।
कमजोर संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प जाँदा आपत्कालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चार वर्षअघि आजकै दिन गोरखाको बारपाकमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

चार वर्षमा १६ विद्यालय पुनःनिर्माण

चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ ९शिक्षा० चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्र भएको छ ।

कार्यालयका प्रमुख भक्तराज सेञ्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६ विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा ती विद्यालय निर्माण भएका हुन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयमा ११५ कक्षाकोठा निर्माण गरिएको छ ।

कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित रु १८ करोड आठ लाख बजेटमध्ये हालसम्म रु १० करोड ५० हजार मात्र खर्च भएको छ । चितवन कम प्रभावित जिल्लाका रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उनले बताए । कार्यालयका प्रमुख सेञ्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मत सम्भारमा मात्रै परेका छन् । ती विद्यालयको काम भइरहेको छ ।
–नारायण अधिकारी