छाडा चौपायाबाट किसान आतंकित

छाडा चौपायाबाट किसान आतंकित


शूरु गरियो व्यवस्थापनको काम
बेझाड, पाल्पाको रामपुरमा छाडा पशुचौपायाले सताउन थालेपछि नियन्त्रणका लागि गौशाला निर्माण कार्य भइरहेको छ । छाडा रुपमा गाउँघरमा किसानका खेतबारीमा पुगेर पशुचौपायाले बालीनाली नष्ट पार्न थालेपछि रामपुर नगरपालिकाले गौशाला निर्माण कार्य अगाडि बढाएको हो ।

नगरपालिका–६ स्थित तातोपानीघाट नजिकै रु ५० लाखको लागत अनुमानमा गौशाला निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताए । “रु ५० लाखको लागत अनुमान भए पनि सबै काम सम्पन्न गर्न रु ७० लाख जति आवश्यक पर्छ, थप रकम नगरपालिका र वडा कार्यालयबाट जुटाएर भए पनि सुविधा सम्पन्न गौशाला निर्माण गर्ने कार्यमा जुटेका छौँ” उनले भने।

छाडा गाई तथा पशुचौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहुँ पुगेपछि व्यवस्थापनका लागि गौशाला निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो । करीब १५ रोपनी क्षेत्रफलमा नगरपालिकाले गौशाला निर्माणमा रु २० लाख रकम विनियोजन गरेको छ । अहिले निर्माण कार्य तीव्ररुपमा अगाडि बढिरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताए ।

“दुई सय ५० गाई अट्ने क्षमताको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ, अहिले चारैतिर घेराबार गर्ने काम सम्पन्न भएको छ” उहाँले भन्नुभयो । गौशाला निर्माणको काम करीब ६० प्रतिशत सम्पन्न भएको छ । गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका किसान खुसी भएका छन् । यत्रतत्र छरिएर दिनहुँ समूहमा १०÷१५ वटा छाडा गाई, बाच्छाहरु किसानको खेतबारीमा पसेर एकै पटक बालिनाली सखापै पार्न थालेपछि किसानले निकै सास्ती भोगिरहेका छन् ।

उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी उठाउनै नसकिएको कृषक गङ्गा बस्यालले बताए । “निगरानी गरिरहन परेको छ, एकैचोटी ठूलो समूहमा आएर सखापै पार्छन् कि भन्ने चिन्ताले किसानलाई सताइरहेको छ” उनले भने ।

घरमा पालिएका गाई उत्पादन दिन छाडेपछि पालन पोषणको झण्झटले किसानले घरबाट निकालेर अन्यत्र लगेर छाड्ने गरेकाले हिजोआज नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाको आतङ्क बढ्दो छ । पटकपटक सम्बन्धित वडा कार्यालयमा छाडा पशुचौपाया नै डो¥याएर व्यवस्थापनका लागि पनि किसान पुगेका थिए । अब भने गौशाला निर्माण हुन थालेपछि केही समयपछि छाडा पशुचौपायाको व्यवस्थापन हुनेमा किसान ढुक्क छन् ।