दमौली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकताअनुसार योजना र कार्यक्रम बनाइने बताएका छन ।
तनहुँको भानु नगरपालिका–७ वसन्तपुर र वडा नं ८ स्थित पुर्कोट स्वास्थ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको सबैभन्दा नजीकको सरकार भएकाले जनताको आवश्यकताअनुसार नै योजना र कार्यक्रम तय गरिने बताएका छन ।
सांसद कृष्णकुमार श्रेष्ठले सबै तहका सरकारले आ–आफ्नो सीमामा रहेर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य रामबहादुर गुरुङले गण्डकी प्रदेशले जनताको स्वास्थ्य सेवालाई महत्व दिएर योजना बनाएको बताएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले स्थानीय सरकारले मात्रै जनताको सबै आवश्यकता पूरा गर्न नसक्ने हुँदा प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनताको स्वास्थ्य अधिकारप्रति संवेदनशील भएर सेवा गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए। उक्त दुवै स्वास्थ्यचौकी भवन डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा निर्माण भएको हो ।
प्रतिक्रिया