बाजुरा, पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् ।
गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताए। मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउछन। नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताएका छन ।
मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । पानीघट्टको संरक्षण आवश्यक रहेको बडिमालिका नगरपालिका–२ घागरका पानीघट्ट सञ्चालक महावीर महतको भनाइ छ । मिल सञ्चालनसँगै सयौँको रोजगारीसमेत बन्द भएको छ । रोजीरोटी बन्द भएकोमा भन्दा प्रविधि हराउनेमा बढी चिन्ता लागेको महत बताउछन ।
प्रतिक्रिया