काठमाडौं : कुकर्म गरे पाप लाग्छ भन्ने मान्यता सबै धर्ममा हुन्छ । सबै खाले धर्मको बाटो शान्तीका लागि हुने धर्मविज्ञ एंव अन्तरधार्मिक महासंघ नेपालका सदस्य नरेन्द्र पाँडेले बताएका छन । आज राजधानीमा भएको अन्तरधार्मिक महासंघ नेपाल र युनाइटेड मिसन टु नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले अन्तरधार्मिक संवादबाट शान्ति र अनुशाशनका लागि पहल हुने अधिव्यक्ती दिएका छन।
कार्यक्रममा अन्तरधार्मिक महासंघ नेपालका उपाध्यक्ष पियारत्न महर्जनले समाजमा धार्मिक सद्भाव कायम भएमा शान्ति छाउने भएकाले नेपालका संचार माध्यमले धर्मका समाचार प्रकाशनमा बृद्धि गर्नुपर्नेमा जोड दिए। महर्जनले धार्मिक समाचारलाई संचार माध्यममा कसरी प्राथमिकता दिने भन्नेमा अहिले चुनौती भएको भन्दै यसका लागि संचारमाध्यम र धार्मिक गुरुहरूबीच सामिप्यता कायम गर्नुपर्नेमा जोड दिए।
कोषाध्यक्ष सीमा खानले राज्यको चौथो अंग मानिएको संचार क्षेत्रले आफूहरूले शान्तिका लागि चालेको अभियानमा साथ दिए समाजमा शान्तिको प्रचार हुने धारणा व्यक्त गरिन्। उनले बिभिन्न धर्ममा रहेका सकारात्मक कुरालाई संचार माध्यमले प्रचारप्रसार गरेमा समाजमा शान्तिका लागि वातावरण तयार हुने बताए।अन्तरधार्मिक महासंघ नेपालका सदस्य नरेन्द्र पाँडेले मिडियाले धार्मिक समाचारलाई प्राथमिकता नदिएकोमा गुनासो गर्दै अबदेखि धार्मिक समाचारलाई संचारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिए।
‘धर्ममा रहेका सकारात्मक कुरा संचारमाध्यमले प्रकाशन र प्रसार गर्न हिच्किचाउने गरेका छन्’ पाँडेले भने, ‘अबदेखि संचारमाध्यमले धार्मिक समाचार प्रकाशनमा जोड दिनुपर्छ।’ नेपालमा १० वर्षसम्म चलेको द्बन्द्बमा द्बन्द्बरत दुबै पक्षलाई वार्ता र संवादबाट शान्तिका लागि पहल गर्ने पुलको काम आफूहरूले गरेको दाबी गर्दै अब बिभिन्न धर्मका धर्म गुरुहरूको अन्तरसंवादबाट शान्तिका लागि वातावरण तयार गर्न आफू र आफ्नो संस्था लागी परेको पाँडेको भनाइ छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव एवं ननस्टप खबरका प्रधान सम्पादक प्रभात चलाउनेले संचार माध्यम र धार्मिक गुरुहरूबीच निरन्तर अन्तरसंवाद भएमा धार्मिक समाचारले प्राथमिकता पाउने र यसले शान्तिको पहल हुने बताए। संचारमाध्यमले धर्मको प्रचार प्रसार गर्दा कुनै अर्को धर्मको समुदायलाई असर नपुग्ने गरी पत्रकार आचारसंहिताभित्र रहेर समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए। साथै संचारमाध्यमका प्रतिनिधिले धर्म धर्मबीच अन्तरसंवाद र छलफल हुनुपर्ने र संचारमाध्यमसँग सहकार्य गर्न पनि जोड दिएका थिए।
प्रतिक्रिया