काठमाडौँ –‘खाली सीसी, बोतल, पुराना कागज’ आफ्नै घरभित्र बसिरहेको बेला हामीले आफ्नो हरेक दिनजसो गल्लीमा सुन्छौँ । धेरैका लागि यस्ता सीसी र कागज खोज्दै हिँड्ने मानिसहरु आर्कषण लाग्दैनन् । तर, सीसी टिप्ने ती मानिस आयुषी केसीका लागि प्रेरणाको श्रोत बने ।
अहिले खाली सीसी उनको कम्पनीको ब्राण्डेड नाम हो । यही कम्पनीमार्फत आयुषी काठमाडौंको पुराना कवाड समान जम्मा गरेर व्यापार गर्छिन् ।
सन् २०१७ जुन १५ मा स्थापना भएको उनको सिसु कम्पनीले सन् २०१८ सम्म पुग्दा नै गजव गर्यो । उनलाई विश्वकै सफल महिला बनायो ।सार्वजनिक ठाउँमा फालिएका कवाड समान उठाउन काठमाडांैमा मात्रै १० देखि १३ हजार मानिस खटिन्छन् ।
तर, फोहोर–कवाड पुन प्रयोग गर्न र सजिलै आम्दानी गर्न सकिन्छ । पैसा खर्चेर ल्याण्डफिलमा लगेर खेर फालिने कुराले आयुषीलाई पोलिरहन्थ्यो ।
‘हामी विशालनगरमा बस्थ्यौँ । हात्तिछाप चप्पल, घुमिलो कपडा, हातमा बोरा बोकेर खाली सीसी,बोत्तल भनेर बाटोमा कराउँदैं हिडेका, मधेसी मुलका एकजना दाइलाई कौसीबाट माथि बोलाएँ, आयूषीले खाली सीसीमा काम शरुवात गर्दाको सम्झना गर्दै भनिन्, ‘हामी काम गर्न कम्पनी खोल्छौँ । यो काठमाडौँको फोहोर सबै बेचेर पैसा कमाउने सोच छ । हामीसँग काम गरौँ न ।’
आयुषीको यो प्रस्ताव रामसागरले पत्याएनन् । बरु हाँसे । रामसागरले सोधे, ‘सरहरु खोइ त ?’आयुषीले जवाफ दिइन्, ‘हुनुहन्छ ।’ खासमा त्यसबेला उनी एक्लै थिइन् ।
‘आयुषी भन्छिन्, ‘तीनै रामसागरसँग मैले एक महिना काम गरँे । उनी दिउँसोभर आफ्नो काम गर्थे । मसँग पार्टटाइम काम गरे । मासिक ५ हजार कमाइ गरे । तब रामसागरलाई आयुषी मेडम होइन, सर जस्तो लाग्न थाल्यो ।’
काम बढ्दै गयो । रामसागरले सुबोध ल्याए । सुबोधले महेश ल्याए । हँदाहँुदै अहिले आयुषीसँग १५० जना आबद्घ छन् ।
आयुषी भन्छिन्, ‘उनीहरुसँग खुब न्याचुरल रिलेशन छ । अफिसमा आउनुहुन्छ मज्जाले भोजपुरी गीत सुन्नुहुन्छ, खाली सीसीको आइडी विल बोकेर सिस्टमेटिक तरिकाले कवाड संकलन गर्न जानुहुन्छ । अहिले ती १५० जनाले २५ प्रतिशतले आम्दानी बढेको छ ।
आयुषी भन्छिन्, ‘आफनो आम्दानीबाट भन्दा पनि म अहिले कामबाट चाहिँ सन्तुष्ट छु । आफनो काम गर्न अरुको मुख ताक्ने प्रवृत्तिभन्दा आफैं केही गरौँ भन्ने लाग्छ ।’
सिल्भर माउन्टेन कलेज चलाइसककी आयुषी पढाइमा पनि कम छैनन् । काठमाडौं यूनिभर्सिटिबाट विजनेशमा व्याचलर सकेकी छिन् ।
खाली सीसीको काम अगाडि उनी एक आइएनजिओमा थिइन् । तलव र सुविधा पनि राम्रै थियो । देश–विदशे घुम्ने अवसर पनि आउथ्यो । तर, उनले त्यहाँ भन्दा अर्को काममा केही देखिन् ।
‘यो काम शुरु गर्नुभन्दा पहिला गैरसरकारी संस्था यूएसएआइडीमा काम गर्थेँ । यो पेशामा लाग्नुमा मेरो खासै अरु केहि इन्टेन्सन होइन । इनभारोमेन्टप्रति मेरो झुकाब मात्रै हो ।’
‘फोहोरको बिजनेश गर्छु भन्दा मेरो परिवार तर्सियो, परिवार कन्भिन्स गराएर आफ्नो काम सफल पार्न मलाई थोरै च्यालेन्ज थिएन’ उनले विगत सम्झिइन् ।
उनको काम हेर्दा सामान्य लाग्छ । तर जोकोहिले हत्तपत्ति भेटिहाल्न सक्दैनन । समय व्यवस्थापन नै सफलताको मुल सूत्र मान्छिन् उनी ।
आयुषीले भनिन, ‘हठ्ठी भएर लागेको हुनाले मात्र सफल भएको हँ । अहिले पनि मलाइ सबैले रुढ छे भन्छन् । मलाइ केहि फरक पर्दैन किनकि म अरुको कुरा सुनेर डिसाइड गर्ने मान्छे होइन ।’
फोहोर संकलकलाइ सम्मानको साटो हेयभाबले हेर्ने सोचप्रति उनको असन्तुष्टि छ । आयुषीे अब कवाडीवाली बनिन् । उनी पुराना समान संकलन गरेर सेकेण्ड ह्याण्ड सप खोल्ने योजनामा पनि छिन् ।
-पार्वती खड्का
प्रतिक्रिया