काठमाडौँ । विकुप्रसाद देउला सरसफाइ अभियन्ता मात्र होइनन्, फोहोरमैला सङ्कलनको काम गरेर व्यवसाय चलाइरहेका सफल व्यवसायी पनि हुन् ।
यही कामबाट उनले वार्षिक ५० लाखको कारोबार गर्दै आएका छन् भने मासिक ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्नेगरेका छन् ।
घरघरबाट सङ्कलन गरिएको फोहोरमैला व्यवस्थापन गर्ने उनको आफ्नै तरिका छ । जडीबुटीस्थित खोला किनारमा ६ रोपनी जग्गा भाडामा लिएर फोहोर उठाउने आफ्नै साधन २ वटा टिपर, एउटा ट्याक्टर र ६ वटा रिक्सा छन् ।
आफ्नै मेनपावरमार्फत फोहोर सङ्कलन गर्छन् र त्यही सङ्कलित फोहोर रिसाइक्लिन गरेर आएको ५० प्रतिशत दानाबाट सुँगुर, कुखुरा र हाँस अघाउँछन् भने बाँकी ५० प्रतिशत मात्र डम्पिङ साइटमा जम्मा हुन जान्छ ।
कागज, भान्साबाट निस्कने तरकारिका बोक्रा लगायतका कुहिने फोहोर खानेकुरा एकातिर र प्लास्टिक, मेटल, सिसा, बोतल जस्ता नकुहिने फोहोरलाई अर्कातिर गरी छुट्टाछुट्टै छान्ने गरिन्छ । उक्त फोहोर छुट्याउन उनले ३६ जनालाई रोजगारी दिएका छन् ।
‘मसँग काम गर्नेहरू विदेश जाँदैनन्, विदेश किन जानु र ?’ प्रश्नात्मक शैलीमा उनले भने, ‘सामान्य कामदारले पनि १८ हजार तलब पाएका छन् ।’
उनको बङ्गुर फार्ममा ६० वटा बङ्गुर छन् भने ७ सयवटा जति विभिन्न प्रजातिका हाँस, कुखुरा छन् । यिनै दिनानुदिन हुर्कन्छन्, बढ्छन् । मनग्ये आम्दानी छँदैछ । उनलाई यो सबै काम जर्मन प्रोजेक्टले सिकाएको हो ।
जागिर खाने उद्देश्य बोकेर काभ्रेको पनौतीबाट काठमाडौँ छिरेको विकुप्रसाद २०५४ सालसम्म त रिक्सा धकेलेरै आफ्नो गर्जो टार्ने गर्थे । विगत सम्झँदै उनी भन्छन्– ‘त्यो दिन ताजै छ, त्यही सडकको फोहोर टिपेको सङ्घर्षले अहिले काठमाडौँ महानगरपालिको दोस्रो ठेकेदारसम्म बनाएको त हो ।’
तत्कालीन समयमा फोहोरमैला व्यवस्थापनको लागि नेपालमा जर्मन प्रोजेक्ट भित्रिएको थियो । नेपालमा २०५७ सालमा यो प्रोजेक्टको अवधि सकियो । त्यसपछि अव्यवस्थित फोहोरमैलाले काठमाडौँ सहर दुर्गन्धित बन्दै गयो । तब विकुप्रसाद देउलाले गज्जबको आइडिया झिके । उनले जर्मन प्रोजेक्टमा नोकरी गरेर कमाएको पैसा अलिकति जोहो गरेका रहेछन् । उनी भन्छन्– “त्यही पैसाले बी एन्ड बी नामक कम्पनी सञ्चालनमा ल्याए ।
सुरुवातमा काठमाडौँ महानगरपालिकाले डाकेर मासिक १४,००० दिने सोबापत काठमाडौँको फोहोर टेकुमा लगेर फाल्नुपर्ने सर्तमा सम्झौता गरिदियो । विकुको काम जेनतेन चल्दै थियो । २०६२ सालमा नुवाकोटको ओखरपौवामा ल्यान्डफिल तयार भएपछि सरकारले टेकुमा फोहोर फाल्न बन्देज ग¥यो, “उनी भन्छन्, गणतन्त्र आएपछि फोहोर फाल्न दिएन सरकारले, कति कम्पनी बीचैमा हराए । त्यो उनको सम्झनामा छैन तर उनी भने अहिले आफ्नो कम्पनी बी एन्ड बी क्लिनिङ सर्र्भिसमार्फत बानेश्वरदेखि बागबजार, डिल्लिबजार, भीमसेनगोला, सिनामङ्गल र प्रदर्शनीमार्गसम्मको फोहोर सङ्कलन र व्यवस्थापनको काम गर्दै आएको बताउँछन् ।
काम नलाग्ने भनेर फुत्त फाल्ने गरेको वस्तुलाई टपक्क टिपेर विकुप्रसाद हिरा बनाउँछन् । काठमाडौँ महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नका लागि डम्पिङ साइट खोजेर व्यवस्थापन गर्छ । फोहोरलाई मोहोर बनाउन सिपालु विकुलाई यो परिपाटीसँग पटक्कै चित्त बुझेको छैन ।
यति मात्र कहाँ हो र ? फोहोरमैलामा सङ्कलकलाई सम्मान होइन समाजले हेय भाव राख्छ । विकुले झेलेको पनि यही समाज हो । कहिलेकाहीँ गाडी विग्रिहाल्छ, दुर्घटना हुन्छ । फोहोर उठ्दैन आम नागरिकको दबाब, किचलो यस्ता धेरै हण्डरसँग जुध्न जानेका उनलाई आजकाल थोरै चिन्ताले चाहिँ साँच्चै थला राखेको छ, त्यो हो जग्गाको समस्या । उनी भन्छन्– “फोहोरमैला व्यवस्थापन गर्न भनेपछि जग्गा भाडामा पाइँदैन, पाइहाले पनि अनकन्टारमा ठाउँमा पाइन्छ ।
अहिले व्यवसाय चलाइरहेको ठाउँ खोला किनारैमा छ । त्यो पनि जग्गाधनीसँग एग्रिमेन्ट पनि सकि नै लागेको छ । घरबेटीले एग्रिमेन्ट नथपे उनको व्यवसाय धरापमा छ । उनले भने “सरकार हामीजस्तो व्यवसायीलाई बेवास्ता गर्छ । अनि के गर्ने भन्नुस त ?” फोहोरमैला व्यवसायको राम्रो नतिजा हात पारेका यिनै विकुप्रसाद अब सफल कृषक बन्ने दाउमा छन् । त्यो पनि फोहोरबाट कम्पोस्ट मल बनाएर अर्गानिक खेती योजना देखाउने धोको छ । साभार;रातोपाटि
प्रतिक्रिया