काठमाडौं- कपाल र दाह्री फुलेर सेतै भएका चम्पा दनुवार ९६९० दायाँ हातले कोदाली समातेर तम्तयार छन्, खेत खन्न । हेर्दा लाग्छ, पाको उमेरका उनले कसरी खनजोत गर्न सक्लान् रु तर, सहरबाट झुक्किएर पुग्नेहरूको अनुमानविपरीत उनी दुवै हातले कोदाली उचाल्छन् र ब्वाङ्ब्वाङ् खेत खन्छन् ।गत साता ललितपुरको डुकुछाप पुग्दा देखिएको दृश्य हो यो।
कोदाली लिएर खेतमा प्रवेश गरेका चम्पाले एकैछिनमा एउटा खेतको गह्रो खनिसके । काठमाडौं वा ललितपुरका सहरी क्षेत्रबाट पुग्नेले नौलो मानेर उनको कृषि कर्मलाई नियाले । चम्पाका लागि भने कोदाली उचाल्नु र अर्मपर्म गर्नु कुनै नौलो होइन । पुख्र्यौली पेसा नै कृषि भएका उनले यसरी कोदाली उचाल्न थालेको ६ दशक बितिसकेको छ ।‘हामीले गर्न जानेकै यही हो,’ चम्पाले भने, ‘कसैले पढ्न सिकाएन, अहिलेका नानी–बाबुलाई स्कुल पठाउँदा पनि पढ्न मान्दैनन् ।’ सानैदेखि खेतीपातीमा रुचि राख्ने चम्पाले खेतीपाती गरेरै डुकुछापमा एक रोपनी जग्गा पनि जोरेका छन् । ६ जनाको परिवार पाल्नकै लागि उनले दैनिक अरुको खेतबारीमा बिताएका छन् ।
अहिले पनि उनको आम्दानीको बाटो केही छैन । बाग्मती बगरको एक रोपनी जग्गामा उब्जाउ भएको अन्नले परिवारको छाक टर्दैन । त्यसैले त उनी बुढ्यौलीमा पनि अरुको मेलापात गरेका छन् । त्यही आम्दानीबाटै सन्तानको न्यूनतम आवश्यकता पूरा गरेका छन् । ‘बगरमा थोरै खेत छ, त्यही खेतमा अलिअलि धान, मकै र गहुँ फल्छ,’ उनले भने, ‘अरु सबै किनेर गुजारा चलेको छ ।’ उनका अनुसार यो बस्तीका अधिकांशको दैनिकी यसरी नै बित्छ।
डुकुछापको यो पुरानो दनुवार बस्तीमा एक सय ७० घरधुरीमा कुल नौ सय जनसंख्या छ । त्यसमध्ये थोरैको मात्रै आफ्नो सम्पत्ति छ । धेरैले अरुको मेलापात र ज्याला–मजदुरी गर्छन् । त्यसैले गुजारा चलाउँछन् । उनीहरू अरुको काम गर्न लाज मान्दैनन् । पुस्तौँदेखि गर्दै आएको कामलाई आफ्नैजस्तो मानेर रमाएका हुन्छन् । त्यसो त दनुवार समुदाय आपसी मेलमिलाप, भाइचारामा पनि बाँधिएको छ । यो समुदायभित्र हरेक काममा हातेमालो र अर्मपर्म चल्छ।
चम्पाजस्तै मुकारुमान दनुवार ९६५० को दैनिकी पनि अर्मपर्ममै बित्छ । पुस्तौँदेखि कोदाली उचाल्ने, थुन्सेमा ढुंगा बोक्ने र अरुको खेतबारीमा काम गर्ने बानी उनलाई छ । शरीर पनि कुटो–कोदालोसँग खेल्न जानेको छ उनको । उनी भन्छन्, ‘हाम्रा पुर्खाले सिकाएको काम नै अर्मपर्म र मेलापात हो, यसमा हामीलाई कुनै अप्ठेरो र लाज लाग्दैन, बरु छोराछोरी अरुको काम गर्न लाज मान्ने भएका छन् ।’ उनको ६ जनाको परिवार छ । ‘मैले पढ्न नपाए पनि छोराछोरीलाई पढाउन दुःख गरेको छु,’ उनले थपे, ‘दुई छोराले बिएसम्म पढे, छोरी प्लस–टु पढ्दै छन्।’
‘अर्मपर्म गरेर जीविका चलाउनु हाम्रो जीवनशैली हो,’ स्थानीय सूर्यमान दनुवारले भने, ‘हाम्रो आफ्नो जग्गा कम भएकाले अरुको काम गरेर पेट पाल्छौँ ।’ भूकम्पअघि यो बस्तीको स्वरूप बेग्लै थियो । ढुंगा र माटोले बनेका एकनासे घर थिए । प्रत्येक घरको छानो जस्ता पाताको थियो । भूकम्पले बस्तीलाई भग्नावशेषमा परिणत ग¥यो । अझै पनि एक सयजति घरधुरी टहरामै छन्।
करिब एक हजार ६ सय वर्षअघि भारतको कामरु कामाक्षाबाट रातो मच्छिन्द्रनाथ उपत्यका ल्याउने क्रममा यहाँका दनुवार पनि मच्छिन्द्रनाथसँगै आएको किंवदन्ती छ । त्यतिखेर रातो मच्छिन्द्र्रनाथलाई पनि एक रात यही बस्तीमै राखिएको जनविश्वास छ । अहिले पनि रातो मच्छिन्द्रनाथ जात्राका वेला केही समय मूर्तिलाई यहाँ राख्ने चलन छ । ‘मच्छिन्द्रनाथलाई एक रात यही बस्तीमा राखेको भन्ने हामीले सुन्दै आएका छौँ,’ स्थानीय विष्णुहरि दनुवार ९४६० ले भने, ‘तर, यकिन जानकारी कतै छैन, अघिल्लो पुस्ताले त्यस्तै सुनाएका थिए ।’ उनका अनुसार यो समुदायको अर्को पुख्र्यौली पेसा माछा मार्ने र गुन्द्री बुन्ने पनि हो।
माछा मार्नका लागि उनीहरू दनुवार बस्ती मुनिबाट बग्ने बाग्मतीमा जाने गर्थे । अहिले बाग्मती धमिलो र फोहोर भएको छ । खोलामा माछा पाइन छाडेको छ । ‘पुर्खाले माछा मार्ने ठाउँ धमिलियो, काठमाडौंमा बस्नेले फोहोर बाग्मतीमा फाल्न थाले, त्यसको प्रभाव हामीलाई पर्यो,’ विष्णुहरिले भने, ‘गुन्द्री बुन्ने पेसा पनि हराउँदै गयो । पुरानो धानको पराल लामो हुन्थ्यो, मार्सी र पोखरेली धान रोपिन्थ्यो, अहिले यो जातको धान लोप भएको छ, अरु धानको पराल छोटो हुन्छ, त्यसैले गुन्द्री बुन्ने पेसा लोप भयो।’
उनका अनुसार आफ्नो पेसा लोप भएपछि अर्काको मेलापातमा निर्भर भएको हो, यो समुदाय । पछिल्लो समय दनुवार समुदायका केही युवा सेनामा भर्ती भएका छन् भने केहीले शिक्षण पेसा पनि अँगालेका छन् । गोदावरी नगरपालिका– १५ मा पर्ने यो बस्तीले जनप्रतिनिधि आएपछि पनि कुनै सुविधा पाएको छैन।
‘जनप्रतिनिधि आएपछि हामीले बाटो मात्रै पायौँ,’ स्थानीय सानीमाया दनुवारले भनिन्, ‘यहाँ पानीको ठूलो समस्या छ । बिहान ३ बजेदेखि कुवामा पानी बोक्न जान्छौँ, कुवामा पनि धमिलो पानी हुन्छ ।’ वडाध्यक्ष सुकदेव लामाले वडाले पानीको बन्दोबस्त गर्न लागेको बताए । यो वर्षभित्र दनुवार समुदायको बस्ती भएको क्षेत्रमा खानेपानीको प्रबन्ध गरिसक्ने उनको भनाइ छ । ‘यो फरक पहिचान बोकेको समुदाय हो, सहरनजिक भएर पनि हेपिएजस्तै देखिन्छ, यहाँको स्थानीयको मुहारमा खुसी ल्याउने योजना हामीले अघि सारेका छौँ,’ उनले भने ।
नयाँलाई भाषागत समस्या
दनुवार बस्तीमुनि चण्डीदेवी माध्यमिक विद्यालय छ । यो सरकारी विद्यालयमा दुनवार समुदायका विद्यार्थी बढी छन् । करिब ७५ प्रतिशत दनुवार विद्यार्थी रहेको यस विद्यालयमा पढ्न आउनेले नेपाली भाषामा पठनपाठन गराएको राम्ररी बुझ्दैनन्।
विद्यालयमा नेपाली भाषामा पढाइ हुने हुँदा दनुवार विद्यार्थीलाई बुझाउन कठिन भएको प्रधानाध्यापक सीताराम खड्काले जानकारी दिए । विद्यालयले अतिरिक्त कक्षा दिएर भए पनि दनुवार समुदायका विद्यार्थीलाई भाषा बुझाउने कोसिस गरेको उनले बताए । ‘सबैभन्दा समस्या सानो कक्षामा छ,’ उनले भने, ‘यसलाई हामीले बिस्तारै बुझाउँदै र सरलीकरण गर्दै जान्छौँ ।’ उनका अनुसार नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक अझै पुगेको छैन । विद्यालयले अहिले निजी संघ–संस्थाले दिएको पाठ्यपुस्तकका आधारमा कक्षा सञ्चालन गर्दै आएको छ।’
अहिले यो विद्यालयमा दुई सय विद्यार्थी छन् । यसमध्ये झन्डै ७० प्रतिशत छात्रा छन् । नयाँ संविधानअनुसार स्थानीय शैक्षिक संस्था स्थानीय तहअन्तर्गत भएकाले त्यसबारे शिक्षक नै अलमलमा छन् । ‘ललितपुर साक्षर जिल्लाको रूपमा घोषणा भए पनि यहाँको शिक्षा क्षेत्रको अवस्था दयनीय छ,’ प्रधानाध्यापक खड्काले सुनाए, ‘स्थानीय तहले पनि कसरी अघि बढ्ने भनेर विद्यालयहरूसँग छलफल गरेको छैन ।’ढुकुछापका भूकम्पपीडितले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँबाहेक अरु केही सहयोग पाएका छैनन् । गैरसरकारी संस्थाले उपलब्ध गराएको पालमै अधिकांश पीडित बसेका छन् ।
विपतले खोसेको मौलिकता
दनुवार समुदायको मौलिक संस्कृति र जीवनशैली बेग्लै छ । यो समुदायको पुख्र्यौली पेसा माछा मार्नु, गुन्द्री बुन्नु, अर्मपर्म र ज्यालादारी गर्नु हो । यहाँका घर पनि भिन्न शैलीका छन् । घरको माथिल्लो भागलाई मन्दिरको जस्तै आकार दिने चलन छ । खर वा परालको छानो भएका घरमा ढुंगाको गाह्रो हुन्छ ।
घर हेर्दा पनि मन्दिरजस्तै देखिन्छन् । तर, २०२६ सालमा बस्तीमा आगलागी भयो । दनुवार समुदायले मौलिक शैलीमा बनाएका सबै घर जलेर नष्ट भए । त्यसपछि बस्तीको मौलिक शैली गुुमेको थियो । गरिब समुदायले मौलिकता दिन नसकेपछि जस्ता प्रयोग गर्न थालेका थिए ।मध्याह्नमा ढुकुछापका सबैजसो घरको ढोकामा ताला झुन्ड्याइएको हुन्छ । यो समय उनीहरू अरुको मेलापात हिँड्छन् । हिँड्न नसक्ने बूढाबूढीबाहेक घरभित्र कोही भेटिँदैन । युवादेखि पाका उमेरसम्मका खेतीबारीमा काम गर्छन् । बालबालिका स्कुल जान्छन् । नागरिक दैनिकबाट साभार ।
प्रतिक्रिया