फुड प्वाइजनिङबाट जोगिने अचुक उपाय

फुड प्वाइजनिङबाट जोगिने अचुक उपाय


गर्मी बढने क्रम सुरु भइसकेको छ । गर्मीसँगै वर्षात पनि हुने गर्छ । वर्षातमा  रोगको संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।  दुषित पानी, बासी,  सडेगलेको तथा झिंगा भन्केको खानेकुराका कारण पनि गर्मी मौसममा पेटको संक्रमण तथा फुड प्वाइजनिङ हुने सम्भावना वृद्धि हुन्छ ।

पेटको संक्रमण तथा फुड प्वाइजनिङ बाहिरकै खानेकुरा खाएकै कारण मात्र हुन्छ भन्ने छैन । घरमै तयार पारिएका खानेकुराका कारण पनि पेटको संक्रमण तथा फुड प्वाइजनिङ हुनसक्छ । 

फुड प्वाइजनिङको समस्या गर्मीको सुरुमा तथा जाडोको अन्त्यमा धेरै हुने गर्छ । विशेषगरी, जाडोको अन्त्य तथा गर्मीको सुरुवाती अवस्थामा तापमानमा बद्लाव आउने गर्छ । जसका कारण व्याक्टेरिया छिटोछिटो बढ्ने गर्छ, र शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

घर आँगन तथा खानेकुराको सही सरसफाइद्वारा पनि यस्ता संक्रमण हुनबाट सजिलै जोगिन सकिन्छ ।

सरसफाइ तथा संक्रमणबाट जोगिने तरिका

साबुन पानीले राम्रोसँग हात धुने

खाना बनाउनु पहिले र बाथरुमबाट  निस्कनासाथ साबुन पानीले राम्ररी हात धुनुपर्छ । त्यस्तै काँचो मासु छोएपछि पनि राम्ररी साबुन पानीले हात धोएको खण्डमा मात्र पनि संक्रमणबाट जोगिन सकिन्छ ।

तरकारीलाई राम्ररी पखाल्ने

तरकारीमा विभिन्न किसिमको व्याक्टेरिया रहेको हुन्छ । यसलाई सफासित नपखालेको यसले शरीरमा विभिन्न संक्रमण निम्त्याउन सक्छ । त्यसैले काँचो तरकारीलाई पकाउनुअघि वा सलादको रूपमा प्रयोग गर्नुअघि राम्ररी पखाल्नु पर्छ ।

खाना राम्ररी पकाउने

कतिपय संक्रमण खानाका कारण पनि हुने गर्छ । विशेषगरी खानालाई राम्ररी नपकाएमा, काँचै राखेमा वा राम्ररी सफा नगरेमा पनि त्यसले स्वास्थ्यमा गम्भीर संक्रमण निम्त्याउन सक्छ । त्यसैले यस्ता संक्रमणबाट बच्न गर्मीयाममा खानालाई राम्ररी पकाएर मात्र खानुपर्छ ।

बासी खाना नखाने

चिकित्सकहरुका अनुसार सडेगलेका तथा बासी खानेकुराका कारण पनि गर्मी मौसममा विभिन्न रोगको संक्रमण धेरै हुने गर्छ । त्यसैले खाना पकाउनासाथ पि|mजमा राख्ने तथा ढुसी परेको खानेकुरा खानबाट पनि बच्नुपर्छ । अन्यथा यसैको कारण पेटको संक्रमण तथा फुड प्वाइजनिङको समस्या बढ्ने गर्छ ।

मिति नाघेको खानेकुरा नखाने

मिति गुज्रेका खानेकुरा सेवन गर्दा पनि विभिन्न रोगका संक्रमण बढ्नसक्छ । त्यसैले कुनै पनि खानेकुरा खरिद गर्दा त्यसको मिति हेर्न जरुरी छ । त्यसको लागि मिति नाघेको खानेकुरा खानु त भएन नै । बरु सकिन्छ भने ताजा फलफुल, खानेकुरा तथा मासुको सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा फाइदा त पुर्‍याउँछ नै । मिति गुज्रेका खानेकुराका कारण स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरबाट समेत जोगाउन सकिन्छ ।

जनावरलाई सकेसम्म नछुने

घरपालुवा जनावरले पनि स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । त्यसैले हरेक पटक घरपालुवा जनावरलाई छोएपछि हात धुनुपर्छर् । अन्यथा शरीरमा विभिन्न रोगको संक्रमण हुनुका साथै फुड प्वाइजनिङको समस्या समेत निम्तनसक्छ ।

बाहिरिया खानाबाट बच्ने

कतिपय मानिस यात्राका क्रममा बाहिरको खानेकुरा सेवन गर्छन् । जब कि यो समयमा बाहिरको खानेकुरा खानुको सट्टा घरमै बनाएको खानेकुरा सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । सढक वा सढक छेउछाउ बेच्न राखिने अधिकांश तयारी खानेकुरा बासी, सडेगलेको तथा पोषणरहित हुने गर्छ । यसको सेवनले शरीरमा पौष्टिक तत्व पुग्नुको साटो शरीरमा विभिन्न रोगका संक्रमण निम्तनसक्छ ।

खानुअघि भाँडालाई पनि राम्ररी सफा गर्ने

कतिपय संक्रमण भाँडाका कारण पनि हुने गर्छ । विशेषगरी एउटै भाँडालाई सफा नगरीकन बारम्बार प्रयोग गरे त्यसमा व्याक्टेरियाको संक्रमण हुने खतरा बढ्छ । त्यसैले पनि खाना खानुपूर्व भाँडालाई राम्रोसँग सफा गर्नुपर्छ । भाँडा सफा गर्ने कपडालाई पनि सफा गर्नुपर्छ । यसो गर्दा कीटाणुको संक्रमण तथा फुड प्वाइजनिङको खतरा कम हुन्छ ।