काठमाडौं चितवनको भण्डारा २ का गुनबहादुर थापा (शम्भु) को व्यवसाय हो, घर–जग्गा कारोबार। ०६० देखि ०६६ को समय थियो, कारोबारबाट उनको आर्थिक प्रगति देखेर घर-जग्गा कारोबारमा साझेदार बनाउन आग्रह गर्दै मानिसहरु उनको घरमै पुगेर पैसा छाड्थे।
‘पैसा लिन्नँ भन्दा पनि घरमै आएर कर गरेपछि धेरैलाई साझेदार बनाएँ’, थापा भन्छन् , ‘अन्त्यमा सबै धोका दिने मात्र भए।’
घर-जग्गा कारोबारमा लागेपछि सामान्य गुजारा चलाएका थापाको आर्थिक हैसियत एक्कासि बढ्यो। काठमाडौं, चितवन, काभ्रे, मकवानपुर, दोलखा लगायतका ठाउँमा घर–जग्गा जोडिए, कुनै कुराको अभाव भएन उनलाई। चितवनमा फस्टाएको घर–जग्गा कारोबारले गुनबहादुरलाई सामान्य अवस्थाबाट असामान्य बनाउँदै लग्यो।
उनको कारोबार चितवनमा मात्र सीमित रहेन। नयाँ–नयाँ साझेदार थपिंदै गए। गुनबहादुरको कारोबारमा भएको वृद्धिसँगै संगत पनि ठूला, धनाढ्य र विशिष्ट मानिसहरुसँग बढ्दै गयो।
घर–जग्गामा भएको नाफाले चर्को ब्याजमा करोडौंको लेनदेन उनका लागि सामान्य बन्दै थियो। एक करोड रुपैयाँको एक हप्ताकै १० लाखसम्म ब्याज तिर्ने हिम्मत र हैसियत उनको बन्यो। घर–जग्गामा हुने नाफाले नै उनी छोटो समयका लागि पनि चर्को ब्याज तिर्न तयार हुन्थे। कारोबारी थापालाई कहिले पैसाको फिटफिटी पर्थ्यो, कहिले हातभरि टन्नै पैसा हुन्थ्यो।
प्रतिक्रिया